घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी

चक्रघटा गाउँपालिका–७ की २२ वर्षीया रामदुलारी देवी यादवलाई चैत ३० गते पति २६ वर्षीय विजयकुमार यादव र ससुरा ५१ वर्षीय रामुगर यादवले कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मलङ्गवामा वैशाख १२ गते उजुरी दिनुभएको छ ।

पीडितले थप दाइजो बापत नगद १ लाख ५० हजार रुपियाँ नल्याएको भन्दै आरोपित पति र ससुराले कुटपिट तथा घरेलु हिंसा गरेकोे पीडितको बुबा चक्रघटा गाउँपालिका–६ का ४५ वर्षीय सगुनी यादवले बताउनु भयो ।

कुटपिटका कारण घाइते भएकी पीडितको उपचार वैशाख २ गते देखी ४ गते सम्म सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरीएको थियो ।

पीडित र आरोपित विजय कुमार यादवबीच ०७८ वैशाख १४ गते हिन्दु परम्परा अनुसार विवाह भएको थियो । विवाहमा दुई लाख रुपियाँ र एक तोला सुन दिएपनि थप दाइजो नल्याएको भन्दै पति र ससुराले कुटपिट गर्ने गरेको पीडितका बुबाले आरोप लगाउनु भएको छ ।

घटना पश्चात आरोपितहरू फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी कैलाश राईले जानकारी दिनुभयो ।

 


बधन साह