घरेलु हिंसा घटनाका आरोपितहरू गिरफ्तार

बीरगंज महानगरपालिका–१४ पिप्राकी २६ वर्षीया सोनी साहलाई कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले ससुरा मुनीलाल साहसहित घर परिवारका अन्य चार जना सदस्यलाई जेठ ९ गते गिरफ्तार गरेको छ ।

प्रहरीले सोनीका देवरहरू २७ वर्षीय प्रभाकरकुमार साह, ३० वर्षीय दिवाकरकुमार साह र २० वर्षीया नन्द अनिता कुमारीलाई पनि गिरफ्तार गरेको वडा प्रहरी कार्यालय श्रीपुरका इन्स्पेक्टर दिनेश गौतमले बताउनु भयो ।

पीडित सोनीले सोही दिन वडा प्रहरी कार्यालय श्रीपुरमा उजुरी दिनु भएको छ । सोनीका पति फरार रहेका इन्स्पेक्टर गौतमले जानकारी दिनु भयो ।

भारतको बिहार पूर्वी चम्पारण जिल्ला अरेराज माइतीघर भएकी २६ वर्षीया सोनीको विवाह ०७५ असार ३१ गते बीरगंज महानगरपालिका–१४ पिप्राका ३५ वर्षीय अनिलकुमार साहसँग भएको थियो ।

विवाह भएदेखि नै घरेलु हिंसामा परेको सोनीले बताउनु भएको छ । दाइजो नदिएको भन्दै आफूमाथि घरेलु हिंसा हुँदै आएको पीडितले आरोप लगाउनु भएको छ ।

जेठ ८ गते देवर प्रभाकरले फलामको रडले टाउकोमा प्रहार गरी घाइते बनाएको सोनीको आरोप छ । टाउको फुटेर घाइते हुनुभएकी सोनीको उपचार स्थानीय क्लिनकमा गरी घर फर्किनु भएको छ ।


कृष्णचन्द्र लामिछाने