घरेलु हिंसाको मुख्य कारण मदिरा सेवन

  ०७९ असार २७ गते

महिलाहरु घरेलु हिंसाबाट पीडित हुनुको मुख्य कारण मदिरा विक्री वितरण तथा सेवन रहेको विभिन्न संस्घसस्थाको तथ्याङ्क तथा प्रहरीमा परेका उजरीको प्रकृति र पीडित महिलाहरुको भनाइले पुष्टि गरेको छ ।

खप्तडछान्ना गाउँपालिका–४ माँझी गाउँकी अनिता रोकायाले पुरुषहरुले हरेक रात  मदिरा सेवन गरी कुटपिट गर्ने, मानसिक यातना दिने, धम्की तथा डरत्रास दिने गरेको बताउनु भयो ।

महिलाहरुले दिन भरी काम गरेर साँझ घरमा आएर शान्तिसँग बस्न पाउने अवस्था नै नभएको उहाँले बताउनु भयो ।

जयपृथ्वी नगरपालिका–१० चैनपुरकी २५ वर्षीया सर्मिला ओलीले पतिले मदिरा सेवन गरेर लात्ती, मुक्का र दाउराले मरणासन्न हुने गरी कुटपिट गर्ने गरेको र महिलाहरु कुटपिटबाट घाइते भएपछि माइतहरुको सहयोगमा उपचार गर्नु पर्ने बाध्यता रहेको बताउनु भयो ।

जयपृथ्वी नगरपालिका–१० पाडेसैनकी २३ वर्षीया सरु विकले मदिराले लठ्ठ भएका श्रीमान घरपुगेर पहिलाहरुलाई विभिन्न आरोप लगाउँदै मरणासन्य गरी दाउराले शरिर र टाउँकोमा घाउँ पर्ने गरी कुटपिट गर्ने गरेको बताउनु भयो ।

पतिले कुटपिट गर्ने गरेको भएपनि न्याय पाउन सकिदैन भन्ने बुझाइका कारण पीडित महिलाहरुले कहि कतै उजुरी समेत नदिने गरेको उहाँले बताउनु भयो ।

अधिकांश ग्रामीण भेगका महिलाहरु मदिराका कारण हिंसाबाट पीडित हुँदै आएका भएपनि यसको रोकथाम तथा नियन्त्रणका लागि सम्बन्धीत निकायबाट पहल हुन नसकेको पीडित महिलाहरुको गुनासो रहेको छ ।

जिल्लाका विभिन्न सरकारी एवं गैरसरकारी निकायमा दर्ता भएका महिला हिंसाका घटना मध्ये ९५ प्रतिशत घरेलु हिंसाकै घटना रहेका छन् ।

इन्सेकले प्रकाशन गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ मा सुदूरपश्चिम प्रदेशमा सन् २०२१ ज्नवरीदेखि सन् २०२१ डिसिम्बरसम्म ६ सय ८५ ओटा मानव अधिकार उल्लङ्घनका पीडित मध्ये ६ सय २७ जना महिला मात्रै पीडित भएका छन् ।

यस अवधिमा बझाङ जिल्लामा १ सय १५ जना पीडित मध्ये ९९ जना महिला घरेलु हिंसाबाट पीडित भएको पाइन्छ । यसको मुख्य कारण मरिदा सेवन रहेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय, बझाङमा २०७८ साउन महिना यता १ सय ४२ ओटा उजुरी घरेलु हिंसासँग सम्वन्धीत रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानबहादुर विष्टले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयमा आएका उजुरी मध्ये ९५ प्रतिशत श्रीमान श्रीमतीबिचको विवादसँग सम्बन्धीत रहेको डिएसपी विष्टको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयमा आउने घरेलु हिंसाका घटनाहरुमा छलफल गर्दा मदिरा सेवन मुख्य कारण भएको पाइएकोले मदिरा नियन्त्रण गर्न सके घरेलु हिंसामा कमी आउने डिएसपी विष्टको भनाइ रहेको छ ।

एक हप्तामा झण्डै तीन जना महिलाहरु घरेलु हिंसाबाट पीडित भएर न्यायका लागि जिल्ला प्रहरी कार्यालयमा आउने गरेको पाइएको छ ।

अधिकारकर्मीहरु पनि घरेलु हिंसाको प्रमुख कारण मदिरा रहेको बताउछन् । मदिरा सेवन गरी एक न एक बाहानामा श्रीमतीलाई यातना दिने काम भइराखेको छ ।

खाद्यअधिकारसम्वन्धी काम गर्ने संस्था फियान नेपालकी फिल्ड अधिकृत सिता सिंहले सबै सरोकारवाला पक्ष मदिरा मुक्त समाज निर्माणको अभियानमा लग्न सकेको खण्डमा महिलामाथि हुँदै आएको हिंसामा कमी आउने बताउनु भयो ।

घरमा खानलाई अन्न ल्याउने पैसाले समेत मदिरा खाएर घर फर्केका थुप्रै. घटनाहरु छन् ।’ श्रीमान बाटै श्रीमतीको ज्यान जोखीममा छ भने हामी कसरी महिला हिंसामा कमी ल्याउन सक्छौ ? उहाँले भन्नु भयो । सबै भन्दा पहिला महिलालाई परिवारमा सुरक्षित रहने वातावरण सिर्जना गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

मदिरा सेवन गरी श्रीमतीलाई कुटपिट गर्ने व्यक्तिलाई कानुनी कार्वाही गर्न सकियो भने मात्रै यस्तो हिंसामा कमी आउने जिल्ला अदालत, बझाङका न्यायाधीस विष्णुप्रसाद अवस्थीले बताउनु भयो ।

‘मदिरा सेवन गरी श्रीमती कुटपिट गर्ने श्रीमानलाई प्रहरीमा उजुरी गरी अदालती प्रक्रियासम्म ल्याएर कार्वाहीको दायरामा ल्याउन सकियो भने, अन्य पुरुषलाई पनि डरको भावना जाग्न सक्छ,’ उहाँले भन्नु भयो, ‘घटना कानुनी प्रक्रियामा नआउँदा पीडकलाई प्रोत्साहान भएको देखिन्छ ।’

न्यायाधीस अवस्थीका अनुसार कानुनी प्रक्रियामा महिलाको पहुँच न्यून भएकै कारण पीडित हुनु परेको छ । महिलाको पहुँच अभिवृदि गर्न जनचेतना प्रवाहलाई व्यापकता दिनु पर्छ । उहाँले भन्नु भयो, ‘महिलाकै हितमा बनेका अधिकांश कानुनी प्रक्रियाबारे महिला नै अनविज्ञ छन् ।’

नेपाली समाजमा शक्तिको आडमा हिंसा भइरहेकाले हिंसा मुक्त समाज निर्माणका लागि महिलालाई क्षमता अभिवृद्धिसँगै आयआर्जनको क्षेत्रमा दरिलो बनाउनु पर्ने नेपाल बार एसोसियसन, बझाङका अध्यक्ष मोहन दौल्यालले बताउनु भयो ।

‘हिंसा शक्तिकै आडमा भइरहेको छ,’ उहाँले भन्नु भयो ‘जबसम्म महिला आर्थिक, सामाजिक, राजनीतिक हिसाबमा सवल बनाइदैन, तबसम्म महिलामाथि गरिने हिंसा न्यूनिकरण गर्न सम्भव छैन् ।’

२०७५ साल भदौ १६ गते जिल्ला समन्वय समितिको दोस्रो जिल्ला सभाको दोस्रो बैठकले जिल्लाका सबै गाउँपालिका तथा नगरपालिकामा मदिरा पूर्ण रूपमा निषेध गर्ने निर्णय गरेको थियो । यदपी हालसम्म जिल्लामा मदिरा विक्रीवितरण रोकिएको छैन् ।

आर्थिक वर्ष २०६६ / ०६७ सालको जिल्ला परिषदले जिल्लालाई मदिरा निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेपनि व्यापारीहरूको आन्दोलनपछि सो निर्णय कार्यान्वयन हुन सकेन् । नागरिक समाज तथा महिला अधिकारकर्मीहरुले अहिले पनि मदिरा निषेध गर्न व्यापक दवाव दिदै आएका छन् ।

जिल्लामा हुने अपराधिक घटनाहरू मध्ये ९८ प्रतिशत मदिरा कै कारण हुने गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

जिल्लामा जाडरक्सीका कारण हरेक वर्ष १० देखि २० जनाको मृत्यु हुने गरेको र महिला हिंसा, बलात्कारका घटनामा समेत बृद्धि भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।

उद्योग बाणिज्य संघ, बझाङका अध्यक्ष दानबहादुर सुर्मेलिले मदिरा विक्रि वितरणको लागि निश्चित समय तोक्न सकिने भएपनि यसलाई निषेध गरे व्यवसायीहरुको हित विपरिद हुने बताउनु भयो ।


सत्यराज सिंह