घरेलु हिंसाका पीडितलाई बस्नै समस्या

लेकम गाउँपालिका-६ का पूजा पाल विगत दुई वर्षदेखि घरेलु हिंसा पीडित बनेकी छन् । उनको मानसिक अवस्था कमजोर भएको भन्दै परिवारले हेरचाह गर्न छाडेपछि उनी पीडित भएकी हुन् ।  दुई वर्षदेखि बेसहारा जस्तै बनेकी उनी घुमफिर गरिरहन्छिन् ।

अहिले आफन्तले संरक्षण गरेका छन् । तर, लामो समयसम्म आफ्नो घरमा राख्न नसकिने आफन्त बताउँछन् । 'केही दिनको साहारा दिएका हौँ । लामो समयसम्म कसरी राख्नु ?'-आफन्तको भनाई छ । तीन बच्चाका आमा पूजा पाल परिवारबाटै अपहेलित भएपछि झनै मानसिक समस्या झेल्न पुगेकी हुन् ।

'परिवारबाट पालनपोषण र उपचार गर्नुपर्ने मागसहित महिला अधिकारकर्मी र इन्सेकको पहलमा जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी गरेपनि स्याहार हुने छाँटकाँट देखिँदैन ।'-महिला अधिकारकर्मी गौरी बडालले भनिन्-'प्रहरीको सहयोगमा परिवारजनसँग कुराकानी गरेपनि महिलाले उपचार पाउने सम्भावना छैन ।'

घरबाट बिचलित परेकी उनी साहाराको खोजीमा छिन् । 'मेरो उपचार गरेपछि म ठिक हुन्छु ।'-पीडितले भनिन्-'दिमागले काम नगरेपछि मात्रै म डुल्छु । मलाई केही भएकै छैन । तर, सबैले गाउँभरी 'पागल' भनेपछि भौँतारिएकी छु ।'

अधिकारकर्मी बडालका अनुसार पीडित महिलालाई सबैले 'पागल' भन्दै गएपछि झन् मानसिक समस्याबाट पीडित भएकी हुन् ।

'महिलालाई उपचार गराउन र सुरक्षित राख्नको लगि हामीसँग सेफ हाउस छैन् ।'-बडालले भनिन्-'घरमा राख्न सकिँदैन । अधिकांश महिला पीडित भएर आएपछि राख्न हामीसँग घर नहुँदा समस्या झेलिरहेका छौँ ।'

पीडितको उपचारका लागि इन्सेक प्रतिनिधि नरेन्द्रसिह कार्कीले राष्ट्रिय मानव अधिकार क्षेत्रीय कार्यालय धनगढीलाई आग्रह समेत गरेका छन् । पीडित महिलाको मानसिक उपचार हुनसके परिवारमै फर्काउन सकिने अवस्था छ ।

महिला तथा बालबालिका कार्यालयले सुरक्षित हाउसको लागि पटकपटक पहल गरेपनि निर्माण हुन नसकेको निमित्त महिला विकास अधिकृत निर्मला कुँवरले बताइन् ।

जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रका अनुसार गत साउनदेखि जेठ ११ गतेसम्म जिल्लामा घरेलु हिंसा भएको भन्दै २५ जनाले निवेदन दिएका छन् । यस्तै महिला हिंसाका ६, लैगिंक हिंसाका नौ, बलात्कारका तीन, बहुविवाहका तीन गरी कुल ४६ वटा निवेदन परेका छन् ।


नरेन्द्रसिंह कार्की