घरेलु हिंसाका उजुरी दर्ता गरेर अनुसन्धान गर्न आयोगको निर्देशन

  ०७३ असोज १६ गते

घरेलु हिंसाका उजुरी दर्ता गरेर प्रभावकारी अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङले असोज १५ गते प्रहरीलाई निर्देशन दिएको छ । आयोगमा परेका दुई उजुरीमा प्रहरीले जाहेरी नलिएको भन्ने गुनासो आएकाले आयोगले दर्ता गरेर अनुसन्धान थाल्न निर्देशन दिएको हो ।

उपभोक्ताको अधिकार अवस्थाबारे अनुगमन गर्न ओखलढुङ्गा आएको आयोगको टोलीले अन्य मानव अधिकारसम्बन्धी उजुरीको समेत अनुसन्धान प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गालाई निर्देशन दिएको आयोगको उपक्षेत्रीय कार्यालय खोटाङका प्रमुख दिपक घिमिरेले बताए ।

एक वर्षपहिले फुलबारी गाविसकी एक महिलाको हत्या हो कि आत्महत्या गरेको भन्ने विवादले पीडित पक्षले दिएको जाहेरी प्रहरीले दर्ता नगरेको भन्ने उजुरी परेकाले सोको अनुसन्धान गर्न निर्देशन दिइएको प्रमुख घिमिरेले जानकारी दिए । त्यस्तै अर्की एक महिला पीडित भएको हिंसाको उजुरी समेत दर्ता नगरेको गुनासो आएको भन्दै दर्ता गरेर कारबाही गर्न आयोगले प्रहरीको ध्यनाकर्षण गराएको छ ।

जिल्लाको समग्र मानव अधिकारको अवस्था अनुगमन गरेको आयोगले उपभोक्ता अधिकारको अवस्थाबारे आयोगको केन्दीय कार्यालयमा प्रतिवेदन समेत पेश गर्ने भएको छ । ओखलढुङ्गामा बजार अनुगमन, कालाबजारी, मनपरी मूल्य असुल्ने र सवारीमा यात्रु ठगिएको पाइएको भन्दै अनुगमन गरेर कारबाही गर्न जिल्ला प्रशासन कार्यालयलाई समेत सचेत गराइएको अनुगमन टोलीका सदस्य लोकनाथ घिमिरेले बताए । आयोगको दुई सदस्यीय टोलीले ओखलढुङ्गामा ०७३ असोज १३ र १४ गते अनुगमन गरेको थियो ।


शिवप्रसाद ढुङ्गाना