घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्र

जिल्ला प्रहरी कार्यालयअन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्रमा दर्ता भएका घरेलु हिंसाका अधिकांश उजुरीहरू मिलापत्र हुने गरेका छन् ।

आर्थिक वर्ष २०७४÷०७५ मा दर्ता भएका २ सय ४५ वटा घरेलु हिंसाका उजुरीमध्ये १ सय ६८ वटा उजुरीमा दुवै पक्षबीच आपसी सहमति भएको सेवा केन्द्रकी इन्स्पेक्टर सुजता तुम्बाहाम्फेले बताइन् ।

घरेलु हिंसाको उजुरीमा गरिने छलफलमा दुवै पक्ष औषधि उपचार खर्च र क्षमायाचना पछि मिल्न राजी हुने हुँदा अधिकांश उजुरीमा सहमति हुने गरेको सप्तरीका एसपी मुकेशकुमार सिंह बताउँछन् । एसपी सिंहका अनुसार निवेदकहरूले प्रहरी कार्यालयमा उजुरी दिएपछि गाउँ, घरपरिवारमा मिल्न दबाब सिर्जना भई सहमतिको सम्भावना बढ्ने गरेकोे छ ।

२०७४ साउनदेखि २०७५ असारको एक वर्षको अवधिमा परेका २ सय ४५ उजुरीमध्ये खानलाउन नदिई कुटपिट गरी घरनिकाला गरेको ३४, खानलाउन नदिई कुटपिट गरेको ३१, मादक पदार्थ सेवन गरी कुटपिट गरेको १४, विवाह दर्ता र नागरिकता प्रमाणपत्र बनाई नदिएको १२, दाइजो नल्याएको भनी यातना दिएको सात, बहुविवाहको धम्की दिएको २४ र दोस्रो पत्नी विवाह गरी हेला गरेको तीन वटा उजुरी परेको छ । सेवा केन्द्रमा आर्थिक, शारीरिक र मानसिक यातना दिएको अन्य १ सय २० वटा उजुरी समेत दर्ता भएका छन् ।

मिल्ने अवस्थासम्म प्रहरीमा मिलापत्र गराउने भएका कारण मुद्दाका पीडित र आरोपित पक्षलाई राखी उनीहरूको समस्याको बारेमा छलफल गरी महिला तथा बालबालिका सेवा केन्द्रले सहजीकरण गर्ने गरेको केन्द्रका प्रहरी रामबहादुर मगरले बताए ।

मादक पदार्थ सेवन, वैदेशिक रोजगार, दाइजो, छोरी जन्मिनु र पति पत्नी र घरपरिवारका सदस्यबीचको मनमुटावका कारण घरेलु हिंसा भई प्रहरीमा उजुरी पर्ने गरेको सेवा केन्द्रले जनाएको छ । केन्द्रमा परेका उजुरीहरूमध्ये धेरै जसो घटनाहरू घरायसी झैझगडाका कारण घरमा खान नदिने, विवाह दर्ता, नागरिकता नबनाई हेला गर्ने, कुटपिट गर्ने गरेको तथ्याङ्कले देखिन्छ ।


मनोहरकुमार पोखरेल