घरयासी विवादको विषयमा वडा कार्यालयमै अध्यक्षले हातपात गरेको आरोप

मनहरी गाउँपालिका-३ का १६ वर्षीय बालक प्रशान्त कार्कीलाई सोही वडाका वडा अध्यक्ष अनन्त प्रकाश अर्यालले कुपिट गरेको भन्दै बालककी आमाले ०८० साउन ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ ।

Photo_080-4-4_Makwanpurवडा अध्यक्ष अर्यालले ०८० साउन ३ गते घरायसी विवादलाई लिएर वडा कार्यालय जाँदा आफ्नी आमालाई कान्छी आमाले कुटपिट गर्दा छेक्न जाँदा वडा अध्यक्षले कुटपिट गरेको पीडित बालकको आरोप छ ।

कार्यकक्षमै वडा अध्यक्षले छोराको घाँटीमा हिर्काएको र घाँटी सुन्निएको पीडित बालककी आमा सानोकान्छी कार्कीले बताउनु भयो ।

आरोपित वडा अध्यक्ष अर्यालले भने वडा कार्यालयको न्यायिक समितिमा छलफलका लागि दुवै पक्षलाई बोलाएर छलफल गर्ने क्रममा प्रशान्तले आक्रोशित हुँदै असामान्वय व्यवहार गरेपछि कार्यकक्षबाट बाहिर पठाउनको लागि धकेल्ने क्रममा घाँटीमा हातले लागे पनि कुटपिट गर्ने नियत नभएको बताउनु भयो ।

Photo_080-4-4_Makwanpur

उहाँले बालक अस्पतालमा उपचारको क्रममा रहेको जानकारी लिइराखेको भन्दै घटना सामान्य भएको बताउनु भयो ।

घटना बारे उजुरी प्राप्त भएकोले घाउजाँचको लागि बालकलाई अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पीडित बालकले भने  आफ्नी आमा सानोकान्छी कार्कीलाई सौतेनी आमा सम्झना कार्कीले वडा कार्यालयमा कुटपिट गर्दा आफूले छेक्न गएको र किन छेकेको भन्दै वडा अध्यक्षले आफूमाथि कुटपिट गरेको आरोप लगाए ।

सिविन मकवानपुरका प्रवन्धक झविन्द्र ज्ञवालीले यस घटनाको बारे अध्ययन भइरहेको र गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक समेत रहेका वडा अध्यक्षबाट भएको भनिएको घटना निन्दनीय भएको बताउनु भयो ।

इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले बालबालिकाको संरक्षण गर्ने जिम्मेवारी सहितको पदमा रहेका व्यक्तिमाथि कुटपिटको आरोप लाग्नु दुखद् भएको बताउनु भयो ।

उहाँले बालकको उपचार र घटनाको निश्पक्ष छानबिन गर्न सबैको सहयोग आवश्यक रहेको समेत उल्लेख गर्नु भयो ।


इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा