घरमै पुगेर भत्ता वितरणः आगलागी पीडितले भने-‘बल्ल घरमै सरकार आएको अनुभूति भयो !’

  २०८१ वैशाख १८

इस्मा गाउँपालिका–४ का ४० वर्षीय बलबहादुर दर्जीको ०४३ सालमा घर जलेपछि गम्भीर घाइते हुनुभयो । जापान सरकारले उपचारमा सहजीकरण नगरेको भए बच्ने सम्भावना नै नभएको दर्जी बताउनुहुन्छ । उपचारको लागि तीन वर्ष अस्पताल बसेर घर फर्किनुभयो । तर, ०८१ वैशाख ८ गते जङ्गलको आगो बस्तीमा पसेपछि दर्जीको फेरी घरगोठ जलेर लाखौँको क्षति गर्‍यो । उहाँले भागेर परिवार र आफ्नो ज्यान मात्रै बचाउनुभयो । दर्जीका घरगोठसँगै दुई ओटा लुगा सिलाउने, एउटा काठ काट्ने मेसिन र पञ्चेवाजा सेट जलेर नष्ट भए । उहाँ ‘ख’ वर्गको अपाङ्गता हुनुहुन्छ । घरमा भएका अपाङ्गताका प्रमाणपत्रसहितका महत्वपूर्ण कागजपत्र जलेर केही रहेन ।

गाउँपालिका र बैङ्कको टोली वैशाख १७ गते सामाजिक सुरक्षा भत्ता लिएर घरमै पुगेपछि दर्जी निकै खुसी हुनुभयो । ‘दैवले पटकपटक बेशाहारा बनायो । तर, घरमै भत्ता बोकेर आउँदा सकारको महसुस भयो । वर्षात अगाडि घरको आशा छ’, दर्जीले भन्नुभयो । इस्मा गाउँपालिकाले आगलागीबाट सम्पूर्ण कागजपत्रहरू जलेर नष्ट भएका आगलागी पीडितहरूलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाका सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाका कर्मचारी र साइन रेसुङ्गा विकास बैङ्क तथा ग्लोवल आइएमई बैङ्कका कर्मचारीहरू घरमै पुगेर चेक बुक प्रिन्ट गरेर लाभग्राहीलाई भत्ता वितरण गरिएको इस्मा गाउँपालिकाका पञ्जिकरण शाखा प्रमुख बलराम खनालले जानकारी दिनुभयो ।

प्रमुख खनालका अनुसार इस्मा गाउँपालिकामा ३ हजार ३ सय ९ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्छन् । जसमा ज्येष्ठ नागरिक ६८ वर्ष माथिका १ हजार ७ सय ३७ जना, ज्येष्ठ नागरिक दलित २ सय ९९ जना, ज्येष्ठ नागरिक एकल महिला ६० वर्ष माथिका २ सय ६० जना, विधवा एकल महिला ६० वर्ष मुनिका ४ सय १९ जना, पूर्ण अपाङ्गता भएका ८३ जना, ‘ख’ वर्गका अपाङ्गता २ सय ५ जना र दलित बालबालिका ३ सय ६ जना रहेका छन् ।

इस्मा गाउँपालिका–२ का ज्येष्ठ नागरिक समेत रहेका ७२ वर्षीय टीकाबहादुर रायमाझीको दुवै खुट्टा चल्दैनन् । उहाँ आगोले घरगोठसँगै सबै सम्पत्ति जलेर खरानी भएपछि पालमा बस्नुभएको छ । गाउँपालिका र बैङ्कको टोली पालकै छेउँमा आएर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएपछि उहाँ खुसी हुनुभयो । रायमाझीलाई आम्दानीको स्रोत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने प्रमाणपत्र जलेपछि मुटु अमिलो भएको थियो । ‘बुढेसकालको आयस्रोत भत्ता हो । प्रमाणपत्र जलेपछि ठूलो पिरलो थियो । अब घर र लालपुर्जा पाउने आशा छ’, उहाँले भन्नुभयो ।

इस्मा गाउँपालिकाले स्थायी आवास निर्माणको लागि सबैलाई सहयोग गर्न आग्रह गरेको छ । इस्मा गाउँपालिकाले आगलागी पीडित परिवारको लागि प्रति परिवार १ लाख रुपियाँ दिने निर्णय गरेको छ । तत्काल आवास निर्माण गर्नको लागि गाउँपालिकाबाट १ लाख रुपियाँ र पछि प्रदेश तथा सङ्घसँगको साझेदारीमा ४ लाख रुपियाँ उपलब्ध गराउने इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले जानकारी दिनुभयो ।

अहिले आगलागी पीडित परिवारको अस्थायी आवास प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका श्रमिकले निर्माण गरिरहेका छन् । इस्मा गाउँपालिकामा आगलागीबाट १ सय ९९ जना प्रभावित भएका छन् । प्रारम्भिक चरणको राहत र उद्धारको काम सकिएको छ । २६ घर, ४९ गोठ र १५ परिवारको गोठ मात्रै जलेको छ । एकै परिवारका तीन गोठ समेत जलेका छन् । जङ्गलको आगो बस्तीमा पसेपछि इस्मा गाउँपालिका–२, सिदुङ्खाका १६ घर परिवार र इस्मा गाउँपालिका–४, कोटकोटेरी र मड्किनाका नौ घर परिवारको बिचल्ली भएको छ । दर्जनौँ गोठ, पशुचौपाय र पसल र मन्दिरहरू जलेर नष्ट भएका छन् ।

Photo30042024Gulmi.

Photo30042024Gulmi,


टोपलाल अर्याल