घरमै असुरक्षित सुत्केरी हुन्छन् विकट पोख्रीगाउँका महिला

  ०७९ फागुन २५ गते

होम डेलिभरी शून्यमा झार्ने सरकारको नीति भएपनि जुम्लाका विकट ग्रामिण भेगका महिला घरमै असुरक्षित सुत्केरी हुने गरेका छन् । नजिक बर्थिङ सेन्टर छैन । भिरालो बाटोले बोकेर लैजान सकिदैन । बोकेर लैजाने घरमा पुरुष पनि हुँदैनन् । टाढा अस्पताल, स्वास्थ्य चौकी भएको ठाउँसम्म जाने सवारी साधन गुड्ने बाटो छैन । जसका कारणले घरमै असुरक्षित सुत्केरी हुनुको विकल्प छैन ।

तिला गाउँपालिका–७ पोख्री गाउँकी २६ वर्षीया आशा रोकायाका दुई बालबच्चा छन् । उहाँले दुबै सन्तान घरमै जन्माउनु भएको हो । दुबै सन्तान जन्मिदा तीन दिनसम्म घरमै छटपटिएर सुत्केरी भएको उहाँले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नुभयो नजिक बर्थिङ सेन्टर, स्वास्थ्य चौकी, अस्पताल छैनन् । टाढा जान सकिएन । बोकेर लैजाने घरमा पुरुष पनि हुँदैनन् । पुरुष सबै रोजगारका लागि व्यापार व्यवसाय, मजदुरी गर्ने जिल्ला बाहिर गएका हुन्छन् । गाउँ घरमा महिला, बुढाबुढी (ज्येष्ठ नागरिक) मात्रै हुन्छन । उनीहरूले बोकेर अस्पताल बर्थिङ सेन्टरसम्म लैजान सक्दैनन् । घरमै सुत्केरी हुनु बाध्यता छ ।

बच्चा छिटो जन्मिन्छ की भनेर सुत्केरी व्यथा लागेको समयमा जङ्गलमा गएर दाउराको भारी ल्याएर आएको उहाँले बताउनु भयो । यस्तै दुई हप्ता अघि उषा बोहरा घरमै सुत्केरी हुनु भयो । उहाँले पनि सुत्केरी व्यथा लागेको दुई दिनपछि बच्चा जन्माउनु भएको हो । गएको सात महिना अघि जैसरी थापा पनि घरमै सुत्केरी हुनु भयो । उहाँको बच्चा पेटमा उल्टो रहेछ । आशा रोकायाले भन्नुभयो बच्चा जन्मिदा खुट्टा अगाडी आयो । बच्चा बाचेन ।

पोख्री गाउँमा ६५ घरधुरी रहेका छन् । यो गाउँका सबै गर्भवती महिला घरमै सुत्केरी हुने गरेको स्थानीय बताउछन् । गर्भवती भएको अवस्थामा चार पटक चेकजाँच गर्नुपर्छ । स्वास्थ्य संस्थामा सुत्केरी भएपछि राज्यले पोषण भत्ताको सुविधा दिएको छ । तर यो गाउँका महिला घरमै असुरक्षित सुत्केरी हुने र पोषण भत्ता सुविधाबाट बञ्चित हुँदै आएका छन् ।

यो गाउँ तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाकै गाउँ हो । अध्यक्ष रोकायाले भन्नुभयो गाउँमा अहिले बिजुली पानी सबै पुगेको छ । सडकको ट्रयाक पनि खोलिएको छ । यो गाउँदेखि दुई घण्टा टाढा घोडेगाउँ स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर रहेको छ ।

भौगोलिक विकटताका कारण महिलाले बर्थिङ सेन्टरको सुविधा लिन पाएका छैनन् । अब यो गाउँमा बर्थिङ सेन्टरका लागि पहल गरिने उहाँले बताउनु भयो ।

Photo20230309Jumla


मानदत्त रावल