घरमा सुत्केरी हुनेको संख्या घट्यो, तर भौगोलिक विकटताले गर्दा बाटोमा हुनेको बढ्यो

  ०८० कात्तिक २३ गते

निसीखोला गाउँपालिकामा घरमा सुत्केरी हुनेको संख्या लगभग शून्य भएको छ, तर भौगोलिक विकटताले गर्दा बाटोमा सुत्केरी हुनेको संख्या बढ्दै गएको छ ।

सरकारको ‘शून्य होमडेलिभरी’ को नीतिलाई सफल बनाउँन गाउँपालिकाले गाउँ घरमा स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्छ भनेर सचेतना फैलाउन थालेको थियो ।

केहि वर्ष पहिलेसम्म सानो उमेरमा विवाह गर्ने, तीन चार ओटासम्म बच्चा जन्माउनेहरु घर घरमै हुन्थ्यो । तर अहिले सानो उमेरमा विवाह गर्नुहुन्न, विवाह गरिहाले पनि बच्चा जन्माउनु हुँदैन भन्नेहरुको संख्या बढ्न थालेको छ । गर्भवती भएपछि नियमित चेकजाँच गर्ने र स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्छ भन्ने चेतनाको विकास भइसकेको छ ।

तर, भौगोलिक विकटता, घरदेखि स्वास्थ्य संस्थासम्मको लामो दुरी र यातायातका साधनमा सहज पहुँच नहुँदा गर्भवती, सुत्केरी र नवजात शिशुहरु थप जोखिममा परेका छन् ।

यहाँका अधिकाशं गाउँबाट स्वास्थ्य संस्था पुग्न एक देखि साढे दुई घण्टासम्म लाग्छ । यहाँका गर्भवती महिला सुत्केरी व्यथा लागेपछि मात्र घरबाट स्वास्थ्य संस्था हिड्छन् । यहाँका अधिकाशं गर्भवती महिलाले घरबाट टाढा रहेको स्वास्थ्य संस्था नपुग्दै बाटोमै बच्चा जन्माउन थालेका छन् ।

बीच बाटोमै सुत्केरी हुँदा आमा र बच्चाको स्वास्थ्यमा थप जटिलता आउन सक्ने गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक जुनी घर्ती मगर बताउनु हुन्छ । ‘बाटोमा सुत्केरी भएकाहरुलाई बाटोबाटै घर फर्काइन्छ, मगरले भन्नुभयो कहिले काँही तीन, चार दिन पछि स्वास्थ्यमा समस्या आएको खबर आउँछ ।’

पहिलेको तुलनामा घरमा सुत्केरी हुनेको संख्यामा कमी आएपनि बाटोमा सुत्केरी हुनेको संख्या बढ्दा आमा र बच्चाको स्वास्थ्यमा थप समस्या आउने गरेको उहाँको भनाई छ ।

दुई वर्ष यता गाउँपालिकाको रेकर्डमा घरमा सुत्केरी हुनेको संख्या शून्य छ । तर, अघिल्लो आर्थिक वर्षमा ३० जना गर्भवती महिला घरबाट स्वास्थ्य संस्था आउँदा बाटोमा सुत्केरी भएको तथ्याङ्क छ भने चालु आर्थिक वर्षमा १५ जना गर्भवती महिला बाटोमै सुत्केरी भएको स्वास्थ्य शाखा संयोजक मगरको भनाई छ ।

निसीखोलामा चार ओटा स्वास्थ्य चौकी, दुई ओटा सामुदायिक स्वास्थ्य इकाई, दुई ओटा आधारभूत स्वास्थ्य सेवक केन्द्र र ६ ओटा बर्थिङ सेन्टर रहेका छन् ।


सिर्जना पन्त