घरभित्र पसेको आरोपमा दलित बालिकालाई बाँधेर यातना

  ०७८ चैत २ गते

मन्थली नगरपालिका–६ भलुवाजोरकी १६ वर्षीया बालिकालाई घरभित्र पसेको आरोपमा ०७८ फागुन ३० गते अपराह्न ४ बजेदेखि चैत १ गते मध्याह्न १२ बजेसम्म बाँधेर सोही ठाउँका ६३ वर्षीय शेरबहादुर श्रेष्ठले यातना दिएको पीडित पक्षाले आरोप लगाएको छ ।

जिल्ला प्रहरी कार्यालय मन्थलीबाट गएको प्रहरी टोलीले पीडित बालिकालाई चैत १ गते मध्याह्न १२ बजे उद्धार गरेको छ ।

आरोपित श्रेष्ठलाई प्रहरीले गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान अघि बढाएको डिएसपी राजकुमार थिङले बताउनु भयो ।

गैरदलित समुदायको घरभित्र छिरेको निहुँमा स्थानीय विद्यालयमा अध्ययनरत बालिकालाई २१ घण्टासम्म डोरीले बाँधेर यातना दिइएको पीडितको आरोप छ ।

पीडित बालिकालाई हात र कम्मरमा नाम्लोले बाँधेर घरको दालिनमा चार घण्टासम्म झुण्ड्याएको र त्यसपछि १७ घण्टा घरको थाममा बाँधेर सिस्नो लगाई कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

आरोपित शेरबहादुर श्रेष्ठले घरभित्र पसी दही चोरेर खाएकोले बाँधेर राखेको बताउँदै रुद्री लगाउने खर्च व्यहोर्नु पर्ने माग राखेको जनाइएको छ ।

पीडित बालिकालाई बाँधेर राखेको थाहा पाएपछि यातना नदिन र तत्काल छोड्न आग्रह गर्दा नमानेको वडा सदस्य भक्तमाया श्रेष्ठले बताउनु भयो ।

विद्यालयका शिक्षक प्रह्लाद सुवेदीले पनि घटना थाहा पाउने बित्तिकै गएर छाड्न अनुरोध गर्दा घरधनी श्रेष्ठले नमानेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।


नबराज घिमिरे