घटनाको प्रभावकारी अनुसन्धान गरि पीडितको न्यायका लागि सार्थक पहल गर्न अधिकारकर्मीहरूको माग

  ०७८ असोज ८ गते

घटनाको प्रभावकारी अनुसन्धान गरि पीडितको न्यायका लागि सार्थक पहल गर्न सरोकारवाला निकायहरूसँग बाँकेका अधिकारकर्मीहरूले असोज ८ गते विज्ञप्ती जारी गरि माग गरेका छन् ।

इन्सेक लगायत विभिन्न सङ्घ संस्थामा आवद्ध आधिकारकर्मीहरूले जानकी गाउँपालिका निवासी २७ वर्षीया नन्कुनी धोवीको मृत्यु भएको घटना र बाँके परशपुर निवासी निर्मला कुर्मी बेपत्ता घटनाका सम्बन्धमा विज्ञप्तीमार्फत घटनाको प्रभावकारी अनुसन्धान गरि पीडितको सार्थक पहल गर्न माग गरेका हुन् ।

विज्ञप्तीमा ०७८ साउन ५ गते  जानकी गाउँपालिका निवासी वर्ष २७ की नन्कुनी धोवीको मृत्यु भएको घटना र बाँके परशपुर निवासी निर्मला कुर्मी बेपत्ता घटनाका सम्बन्धमा महिला अधिकार मञ्चको नेतृत्वमा काठमाण्डौ सम्मको पैदल यात्रा प्रति मानव अधिकारकर्मीहरूको ध्यानाकर्षण भएको जनाएको छ ।

घटनाको प्रभावकारी अनुसन्धान र पीडितको न्यायका लागी जिल्ला प्रशासन कार्यालय बाँकेमा ०७८ भदौ १७ र असोज ४ गते जन प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र एसपीको उपस्थितिमा छलफल भएको र नेपालगञ्जस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा भदौ २९ र ३१ गते दुबै घटनाका सम्बन्धमा छलफल गर्नुका साथै पीडित पक्षहरूसँग राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जमा भेटघाट तथा छलफल गरि घटनाको बारेमा थप जानकारी लिने कार्य समेत भएको  विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, मानव अधिकार सङ्घ संस्था र पीडितपक्षको दबाब पछि नन्कुनी धोवीको मृत्युको घटनाका सन्दर्भमा कर्तब्य ज्यान मुद्दामा जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दर्ता गरि घटनाका आरोपितहरूलाई गिरफ्तार गरि कर्तब्य ज्यान मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढी रहेको जनाएको छ ।

प्रहरीले उजुरी दर्ता गरेको भए पनि  पीडित पक्षले आन्दोलन जारी राखेको सन्दर्भ समेतलाई मध्यनजर गर्दै घटनाको प्रभावकारी अनुसन्धानका लागि प्रहरी प्रशासनसँग अनुरोध गरिएको छ ।

नेपाल बार एशोसिएशनका उपाध्यक्ष सुनिलकुमार श्रेष्ठ, इन्सेक  लुम्बिनी प्रदेश कार्यालयका प्रमुख भोला महत, द्वन्द्व पीडित तथा एकल महिला सञ्जालकी केन्द्रिय उपाध्यक्ष शोभा बिसी, एडभोकेसी फोरम नेपालगञ्जका  वसन्त गौतम, फातिमा फाउण्डेसन नेपालकी अध्यक्ष मैमुना सिद्दिकी, द्वन्द्व पीडित तथा एकल महिला सञ्जाल बाँकेकी अध्यक्ष जयन्ती केसी, मानव अधिकार एलायन्स बाँकेका अध्यक्ष प्रभात कुमार ठकुरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा निर्मला कुर्मीको अवस्था हालसम्म पनि अज्ञात रहेको र उहाँकाे  नाममा रहेको सम्पत्ति अर्कैको नाममा स्थानान्तरण भइसकेको कुरा सुन्नमा आएकाले बेपत्ता निर्मला कुर्मीको खोजबिन र सम्पत्तिका बारेमा प्रभावकारी अनुसन्धान र पीडितको न्यायका लागी सार्थक पहल गर्न सम्बन्धित पक्षलाई अपिल गरिएको छ ।


स्मृति देवकोटा