ग्रामीण भेगका स्वास्थ्य संस्थामा निःशुल्क पाउने भनी तोकिएका औषधि अभाव

  ०७३ पुस २६ गते

जिल्ला अस्पतालमा ७०, प्राथामिक स्वास्थ्य केन्द्र ५८ र स्वास्थ्य चौकीहरूका लागि ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने नेपाल सरकारको कार्ययोजना भएपनि ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा भने औषधिको अभाव भएको छ ।

स्वास्थ्य चौकीका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट पठाएको औषधिसमेत बिच बाटोमै चुहावट हुने भएपछि ग्रामीण भेगमा सामन्य खालका बिरामीले समेत आफ्नो स्वास्थ्य संस्थाबाट निःशुल्क रूपमा पाउने भनिएका औषधि पाउनबाट वञ्चित हुनुपरेको हो ।

जिल्ला स्वास्थ्य कार्यालय मुगुका लागि वार्षिक रूपमा १८ देखि २५ लाख रुपियाँसम्म रकमको औषधि ठेकेदारमार्फत ढुवानी गर्ने गरेको छ भने नेपाल स्वास्थ्य सेवा विभाग मध्य पश्चिमाञ्चल क्षेत्रीय मेडिकल स्टोर नेपालगञ्जबाट पनि उत्तिकै औषधि जिल्लाका लागि आउने गरेको छ ।

सरकारले ३५ प्रकारका औषधि निःशुल्क रूपमा पाइन्छ भन्ने थाहा पाएको भएपनि ज्वरो आउँदा सिटामोल समेत पाईन्न डोल्पु गाविस-५ का कर्मा लामाले गुनासो गरे ।

मुगुमा रहेका २४ ओटा स्वास्थ्य चौकी, चार ओटा इलाका तथा एउटा प्राथामिक स्वास्थ्य चौकीमा सधैँभरी औषधि अभाव भइरहेको गुनासो जिल्ला स्वास्थ्य कार्यालयमा आउने गरेको बताइएको छ ।

स्थानीय स्वास्थ्य संस्थाले माग गरे अनुसार जिल्ला स्वास्थ्य कार्यालयको स्टोरमा भएको औषधि पठाउने गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 'स्थानीय स्वास्थ्य संस्थामा पठाइएको औषधि कहाँ गयो भन्ने कुराको खोजविन सुरु गरेका छौँ ।'-जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डाक्टर सरोज अधिकारीले बताए ।

जिल्ला स्वास्थ्य कार्यालयबाट सम्बन्धित स्वास्थ्य संस्थाका कार्यालय सहयोगिले औषधि बुझेर ल्याउने गरेको बताउँदै औषधि ल्याउनेले बिच बाटोमा नै विक्री वितरण गरी फर्किने गरेको स्थानीयको आरोप छ ।

त्यसैगरी स्वास्थ्यकर्मीले औषधि बुझेपनि ठाउँसम्म पुर्‍याउन समस्या हुने भन्दै बजारमै लुकाउने र वितरण गर्ने गरेको मुगु गाविसका स्थानीयबासी छोर्तेन लामाले आरोप लगाए ।

केही दिन अगाडि उत्तरी सोरू भेगका स्थानीयबासी आफ्नो गाउँका स्वास्थ्य संस्थामा औषधि अभाव भएको भन्दै जिल्ला स्वास्थ्य कार्यालयमा ध्यानाकर्षण गराउन आएका थिए ।  'गाउँमा स्वास्थ्य चौकी छ । स्वास्थ्यकर्मी भएका बेला औषधि हुँदैन । औषधि पुगेका बेला स्वास्थ्यकर्मी हुँदैनन् । दुवै चिज एकै पटक कहिले पाइने हो ?-जिमा गाविसका राजबहादुर शाहीले भने । उनले थपे-'सिटामोल किन्न पनि निजी मेडिकलहरूमा जानु पर्ने बाध्यता छ ।'

ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरूको मागको आधारमा नियमित रूपमा कार्यालयबाट औषधि पठाउने गरेको जिल्ला स्वास्थ्य कार्यालयको औषधि भण्डार शाखा प्रमुख प्रेमबहादुर रावतले बताए ।


जीवन सेजुवाल