ग्रामीण भेगका स्वास्थ्य चौकी स्वास्थ्यकर्मीविहीन सेवाग्राही प्रभावित

जिल्ला स्वास्थ्य कार्यालय तथा अन्य निकायले गर्ने तालिम तथा सेमिनारमा भाग लिन स्वास्थ्य चौकी खाली गरेर कार्यरत स्वास्थ्यकर्मी जिल्ला सदरमुकाम र जिल्ला बाहिर गएपछि ग्रामीण भेगका स्वास्थ्य चौकी स्वास्थ्यकर्मीविहीन भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय र अन्य निकायले आयोजना गर्ने तालिम तथा सेमिनारमा भाग लिन र घर बिदा भन्दै आफू कार्यरत स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मी हिँड्न थालेकाले खत्याड, सोरू र मुगुम कार्मारोङ्ग गाँउपालिकास्थित स्वास्थ्य संस्था स्वास्थ्यकर्मीविहीन भएका हुन् ।

पश्चिम खत्याड गाउँपालिका-१० हृयाँग्लुस्थित स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नभएपछि स्थानीयवासी स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् । गाउँमा रूघा खोकीको प्रकोप फैलिएको छ । स्वास्थ्य चौकीका लागि चार जनाको दरबन्दी भएपनि अहिले एक जना स्वास्थ्यकर्मी पनि चौकीमा नहुँदा स्थानीयवासीले सामान्य सिटामोलसमेत पाउन नसकेको स्थानीयवासी किसनलाल रोकायाले गुनासो गरे ।

स्वास्थ्य चौकीका इञ्चार्ज हेल्थ असिष्टेण्ट जनक बिक, अहेब टक्कबहादुर डाँगर, अहेब भावना कार्की र अनमी केपकुमारी चन्द (चारै जना) स्वास्थ्य चौकीमा नरहेको स्थानीयबासी रोकायले बताए ।  मुगुम कार्मारोङ्ग गाँउपालिकाको डोल्पु, किम्री स्वास्थ्य चौकीमा समेत लामो समयदेखि स्वास्थ्य संस्था बन्द रहेको स्थानीयवासीले गुनासो गरेका छन् ।

कार्यालय सहयोगीले स्वास्थ्य चौकी खोल्ने भएपनि गाउँपालिकाले औषधि खरिदसमेत नगरिदिँदा सर्वसाधारण स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको छ । स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी तालिम र घर बिदामा हिँडेपछि सोरू गाउँपालिका र खत्याड गाँउपालिकाको केही स्वास्थ्य संस्थामा फेज नेपाल नामक गैरसरकारी संस्थाले हप्ताको तीन दिन औषधि वितरण गरिरहेको स्थानीयवासीले बताए ।

खत्याड गाँउपालिकाको हृयाँग्लु, रिगा, सेई, डुमाना, विना गाउँ र छिमेकी बाजुरा जिल्लाको सेवाग्राही आउने भएपनि स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य चौकी पुग्ने बिरामी उपचार नपाएर फर्किने गरेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयले समय समयमा औषधि पठाउने र कर्मचारी नियमित गराउन, थप औषधिको व्यवस्था गर्ने जिम्मा सबै गाउँपालिका र वडापालिका रहेको जिल्ला स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख सुरज गैरेले जानकारी दिए । स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नबसेको भन्ने जानकारी नआएको र त्यो विषयमा थप बुझेर स्वास्थ्यकर्मी नियमित गराउने उनले बताए ।

अहिले जनप्रतिनिधि जिल्ला बाहिर रहेका तथा स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी तथा औषधि अभावलाई कसरी समाधान गर्ने भन्ने विषयमा आफूलाई गाउँपालिकाको कुनै जानकारी नभएको खत्याड गाउँपालिकाका निमित्त कार्यकारी प्रमुख पञ्चलाल बुढाले जानकारी दिए ।

स्वास्थ्य, कृषि, पशु, शिक्षालगायतका क्षेत्रमा कति बजेट विनियोजन गरिएको भन्ने थाहा नभएको तथा गाउँपालिकामा बैङ्क नभएकाले बजेटसम्बन्धी सबै काम सदरमुकामको सम्पर्क कार्यालयमा हुने बुढाले बताए ।


जीवन सेजुवाल