ग्रामिण भेगमा अझै पनि खुल्ला नुनको प्रयोग गदै स्थानीय

नेपाल सरकारले धेरै अगाडि देखि नै नेपालमा सतप्रतिशत आयोडिन युक्त नुनको प्रयोग बनाउने घोषणा गरेको भए पनि म्याग्दीको ग्रामिण भेगमा अहिले सम्म पनि खुल्ला (ढिका) नुनको प्रयोग हुने गरेको छ ।

सन २०१५ सम्ममै सतप्रतिशत आयोडिन युक्त नुन प्रयोगमा ल्याउने घोषणा भएको भए पनि अहिले सम्म पनि कार्यान्वयनमा आउन भने सकेको देखिदैन ।

मंगला गाउँपालिका– ३ बरंजा आरभाङका ७० वर्षीय शेरबहादुर रोकाले बेनी नगरपालिका–४ तातोपानीको पसलबाट तीन पाथी नुन बोकेर पैदल हिडेर घर तर्फ जादै हुनुहुन्थ्यो । उहाँलाई के बोकेर ल्याउनु भएको भन्ने प्रश्नमा उहाँले भन्नुभयो– ‘तातोपानी गएको मेसोमा नुन पनि किनेर ल्याएको हो ।’ कहिलेकाँही छोरा बुहारी बाहिरबाट घर आए भने प्याकेटको नुन लिएर आउँने त्यो नसकिदा सम्म आयोडिन युक्त नुन प्रयोग गर्ने नत्र भने खुल्ला नुन नै प्रयोग गर्ने उहाँको भनाई छ ।

अतिरिक्त हुलाक कार्यालय बरंजाका डाकवाल समेत रहनुभएका शेरबहादुरले तातोपानीबाट डाक लिनका लागि पुग्दा नुन बोक्ने गरेको सुनाउनु हुन्छ । २०४० देखि हुलाकमा डाक बोक्ने काम थाल्नु भएका उहाँले पहिला गाउँलेहरुका लागि पनि ल्याइदिने गरेको भए पनि अहिले अरुले खासै नभन्ने र आफ्नो प्रयोगका लागि ल्याएको सुनाउनु भयो । आयोडिन युक्त नुनको प्रयोग गर्नुहुन्न भन्ने प्रश्नमा उहाँले भन्नुभयो –‘सानै देखि यही प्रयोग गरियो सजिलो हुने भएकोले यही नै प्रयोग गर्छु ।’

मंगला गाउँपालिकाको ३ र ४ नम्बर वडा बरंजा क्षेत्रमा खुल्ला रुपमा बिक्री हुने ढिके नुनको प्रयोग हुने गरेको छ । उक्त क्षेत्रमा गाइभैसीका लागि भनेर किन्ने गरे पनि धेरैले नै त्यही खुल्ला नुन प्रयोग गर्ने गरेको हुन सक्ने बताउनुहुन्छ मंगला गाउँपालिका–३ का वडा सदस्य कुलबहादुर रोका । कतिपयले खुल्ला नुन प्रयोग गर्ने र कतिपयले नगर्ने भन्ने गरेतापनि प्रयोग भइरहेको पाइएको उहाँको भनाई छ ।

मंगला गाउँपालिका– ३ आरभाङका व्यापारी गमबहादुर छन्त्यालले मासिक रुपमा एक क्वीन्टल भन्दा धेरै खुल्ला नुन बेच्ने गरेको बताउनुहुन्छ ।

बेनी अस्पतालका मेडिकल अधिृकत डा.गोविन्द पोखरेलका अनुसार मानिसको थाइराइड तथा हाड जोर्नीहरुका लागि पनि आयोडिनको प्रयोग आवश्यक छ । उहाँका अनुसार मानव स्वास्थ्यका लागि आयोडिनको आवश्यकता हुने भएकोले आयोडिन युक्त नुनकै प्रयोग बढाउनु पर्ने र खुल्ला नुनको प्रयोग नगर्नु नै सबै भन्दा राम्रो हुन्छ ।

भन्नका लागि गाइभैसीलाई खुवाउने भनिए पनि पशुका लागि पनि खुल्ला नुनको प्रयोग उत्पादकत्वका लागि राम्रो नहुने भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले जनाएको छ । पशु चौपायाहरुका लागि आयोडिनको आवश्यकता हुने र त्यसका लागि नेपालमा अहिले प्रयोग भै रहेको प्याकेटको नुन राम्रो हुने पशु सेवा प्राविधिक गणेश रिजालले बताउनुभयो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्राविधिक रिजालका अनुसार अहिले पशुचौपायाहरुको राम्रो उत्पादन लिनका लागि आयोडिन मिसिएकै नुनको प्रायोग राम्रो हुन्छ ।

अझै पनि खुल्ला नुन प्रयोग 080-12-4 1 myagdi


अमृतप्रसाद पौडेल