गौचन हत्याका आरोपितलाई कारबाहीको माग

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको हत्याको विरोध गर्दै उक्त आपराधमा संलग्नलाई कारबाही गर्न माग गरिएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घले गौचनको हत्यारालाई गिरफ्तार गरी कडाभन्दा कडा कारबाही गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेको हो ।

असोज २४ गते प्रधानमन्त्री निवास बालुवाटारमा महासङ्घको टोलीले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।

महासङ्घको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले हत्यारालाई गिरफ्तार गरी कारबाही गर्नुका साथै सुरक्षाको व्यवस्था मिलाउने बताए । निर्माण व्यवसायीका साथै सम्पूर्ण नेपालीको सुरक्षा गर्न सरकारको दायित्व रहेको बताउँदै प्रधानमन्त्रीले सुरक्षा निकायसँग छलफल गरी कडा सुरक्षा व्यवस्था मिलाउने बताए ।

यसैबिच असोज २४ गते बसेको महासङ्घको आकस्मिक बैठकले अनिश्चितकालका लागि बोलपत्रमा सहभागी नहुने निर्णय समेत गरेको छ । महासङ्घले देशैभरी कामकाज बन्द गर्ने निर्णय गरेको महासचिव रामशरण देउजाले बताए ।

महासङ्घले देशैभरी काम ठप्प पार्नुका साथै घटनाका दोषी पत्ता नलागेसम्म गौचनको शव नबुझ्ने चेतावनी दिएको छ । गौचनको शव परीक्षणका लागि त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

असोज २३ गते खरिबोटमा बा १३ च ४९४८ नम्बरको गाडीमा सवार रहेका बेला अज्ञात समूहले गौचनमाथि गोली प्रहार गरी हत्या गरेको थियो ।

गौचनको हत्याको विभिन्न सङ्गठनले भत्सर्ना गरेका छन् । हत्यारालाई गिरफ्तार गरी कडा कारबाही एवम् शान्ति सुरक्षाको व्यवस्था गर्न माग उनीहरूले सरकारसँग गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स र नेपाल निर्माण व्यवसायी महासङ्घले गौचन हत्याको घोर भत्सर्ना गर्दै अपराधीलाई कारबाही गर्न माग गरेका छन् ।

यसैबिच राष्ट्रिय मानव अधिकार आयोगले गोली प्रहारबाट गौचनको हत्या गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

'आफ्नो घरबाट निस्की गन्तव्यतर्फअघि बढदै गर्दा काठमाडौँको व्यस्त स्थानमा दिउँसै गोली हानी व्यक्तिको हत्या हुनुले आम नागरिकहरूमा असुरक्षाको अवस्था रहेको बुझिन्छ ।'-आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ-'हत्या गरिएका निज गौचनको ज्यान खतरामा रहेको विषय सुरक्षा निकायलाई जानकारी गराउँदा पनि त्यस्तो घटना हुनुले सुरक्षा निकायको सुरक्षा संवेदनशीलता कमजोर भएको देखिन्छ ।'

राज्यले आफ्ना नागरिकहरूको प्रभावकारी सुरक्षा गर्न नसकेको कारण नेपाल पक्षराष्ट्र भएको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि, १९६६ को धारा ६ तथा नेपालको संविधानको धारा १६ द्वारा प्रदत्त जीवनको अधिकार हनन् भएको आयोगकी सदस्य एवम् प्रवक्ता मोहना अन्सारीले बताइन् ।

घटनाको तत्काल प्रभावकारी अनुसन्धान गरी गौचनको हत्यामा संलग्न दोषीलाई यथाशीघ्र कानुन अनुसार कारबाही गर्न तथा आम नागरिकको जीवनको अधिकार सुनिश्चित गरी भयमुक्त वातावरणमा बाँच्न पाउने हकको पूर्ण प्रत्याभूति गर्न आयोगले सरकारलाई आग्रह गरेको छ ।


सुभाष साह