गोली प्रहार घटनाका आरोपित गिरफ्तार

वीरेन्द्रनगर नगरपालिका–१ का ३९ वर्षीय विनोद गिरीमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले वीरेन्द्रनगर नगरपालिका–१ का ३३ वर्षीय सन्तोष गिरीलाई जेठ ३ गते भक्तपुर जिल्लाकाे सुर्यबिनायकबाट गिरफ्तार गरेको छ ।

आरोपित गिरीलाई जेठ ४ गते जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विरेन्द्र वीर विश्वकर्माले जानकारी दिनुभयो । आरोपित गिरीविरुद्ध ज्यान मार्ने उद्योग, शरीर बन्धक, अभद्र व्यवहार, सङ्गठित अपराध लगायत आरोपमा मुद्दा चलाइएको छ ।

गिरी सवार बाग्मती प्रदेश ०१–०२९ च ७२६४ नम्बरको कारमा ०८० फागुन १२ गते राती गोली प्रहार गरिएको थियो । पीडित पक्षले ०८० फागुन १३ गते नौं जना विरुद्ध उजुरी दिएको थिए । तर, हालसम्म पाँच जना आरोपित मात्रै गिरफ्तार भएका छन् । चार जना भने अझै फरार रहेका छन् ।

सोही घटनामा संलग्न भएको आरोपमा ०८० फागुन १२ गते राति नै प्रहरीले भारतको उत्तर प्रदेशको बिजनौर दादानगरगञ्जका १९ वर्षीय रोहित राजपूत, कैलाली जिल्लाको गौरीगङ्गा नगरपालिका–२ का १८ वर्षीय मोटरसाइकल चालक इन्द्र विक सोही ठाउँका १८ वर्षीय भरत भुललाई गिरफ्तार गरेको थियो । त्यस्तै गरी फागुन १३ गते वीरेन्द्रनगर नगरपालिका–४ का ३७ वर्षीय राजन गिरीलाई प्रहरीले गिरफ्तार गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीस मनोजकुमार श्रेष्ठको ०८१ वैशाख ३ गतेको इजलासले पुर्पक्षका लागि चारै जना आरोपितलाई कारागार चलान गरेको छ ।

मुख्य आरोपितलाई गिरफ्तार गर्नुपर्ने भन्दै पीडित परिवारले वैशाख ३ गते जिल्ला अदालतमा अगाडि प्रदर्शन गरेका थिए ।


जगतदल जनाला विक