गोली प्रहारबाट तरुण दल नेताको हत्या

सुनिल स्मृति गाउँपालिका–४ सुलिचौर बजारमा भदौ २४ गते बेलुकी गोली प्रहारबाट नेपाल तरुण दल रोल्पा नगरपालिकाका अध्यक्ष २९ वर्षीय रोहित पुनको हत्या भएको छ ।

इलाका प्रहरी कार्यालय सुलिचौरको नजिकै रहेको रेष्ट पोइन्ट रेष्टुरेण्ट एण्ड बारमा बेलुकी ५ बजेतिर गोली चल्दा पुनको हत्या भएको रोल्पाका प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले बताए ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले रोल्पा नगरपालिका–१० धबाङका ३० वर्षीय देबबहादुर घर्तीलाई गिरफ्तार गरेको छ ।

उनको साथबाट पेस्तोल र उनले प्रयोग गरेको बा १२ च ७३५२ नम्बरको कार पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पुनको छातीमा तीन गोली लागेको बताइएको छ । गिरफ्तारमा परेका घर्ती तत्कालीन माओवादी केन्द्र समर्थक रहेको जनाइएको छ । उनीहरू दुबै जना यसअघि पनि जेल परेका थिए । घटना

बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा राखिएको प्रहरीले जनाएको छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


माधवकुमार ओली