गोलीबाट हत्या घटनाको अनुसन्धान भएन

नमोबुद्ध नपा-४ मेथिनकोटका २६ वर्षीय राम भनिने नमराज पाठकलाई गत वैशाख ३० गते राति घर अगाडिको बाटोमा छिमेकीहरूसँग कुराकानी गरीरहेको अवस्थामा गोली प्रहार गरी हत्या गरिएको घटनाको अझै अनुसनधान प्रक्रिया थालिएको छैन ।

तलतिरबाट सशस्त्र प्रहरीको टोली आइपुग्नु र गोली लाग्नु एकैपटक भएका कारण उक्त गोली सशस्त्र प्रहरीले नै हानेको आरोप पीडित पक्षको रहेको छ । मृतकका केही आफन्त र स्थानीयले भने गाउँलेकै योजना बमोजिम प्रहरीलाई उक्साएर हो अर्थात सन्कीको भरमा प्रहरीले गोली हानेको हो एकिन गर्न नसकिने बताए ।

घटना भएको दिन बिहान खरदारपाटीमा माओवादीका वडाध्यक्ष उम्मेदवार राम चिमौरियासँग झगडा भएकाले दुई जनालाई चौकीमा ल्याएको भएपनि स्थानीयको दबावमा छोडिएको र रामलाई खोज्दै जानेक्रममा प्रहरीले गोली हानेको हुनसक्ने माओवादीका एक जिल्ला नेताले बताए । उक्त टोलीमा रहेका सशस्त्र प्रहरीहरूले भने आफ्नो तर्फबाट गोली खर्च नभएको र फायर नखोलिएको बताउँदै आएका छन् ।

हत्यापछि मृतक आफ्नो पार्टीको कार्यकर्ता भएको भनी एमाले, काँग्रेस, माओवादी र नयाँ शक्तिका प्रायः सबै नेताहरूले बताए । नेविसङ्घका अध्यक्ष रहेका उनका दाजु र उनी स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनपछि निष्क्रिय थिए । मृतक स्थानीय निर्वाचनमा नयाँ शक्तिका उप-प्रमुख उम्मेदवार कुमार दाहालको प्रचार-प्रसारमा संलग्न भएको पाइएको छ । स्थानीयले दुई पटक गोली चलेको सुनेको बताए । सशस्त्र प्रहरीले भने उक्त घटना मोटरसाइकलमा आएका व्यक्तिहरूले गराएर भागेको बतायो । घटनालाई रहस्यमय रूपमा लिइएको छ ।

घटनाको समयमा सँगै रहेका स्थानीय प्रेमप्रसाद चिमौरिया (५४) ले सशस्त्र प्रहरीसँग विवाद भइरहेको अवस्थामा अर्को एक जना प्रहरीले तन्किएर साप यहाँ त मानिस ढलेको रहेछ भनेपछि आफू झसङ्ग भएको बताए । घटनाको पाँच मिनेटभित्रै आइपुगेका एकजना पूर्व नेपाली सेनाले सशस्त्रसँग कुराकानी गरेर अस्पताल पठाएको स्थानीयको भनाइ छ ।

घटनापछि त्यहाँ पुगेको सशस्त्र प्रहरीको टोलीले उनलाई सशस्त्र प्रहरीकै गाडीमा राखेर धुलिखेल अस्पतालमा ल्याएपछि अस्पतालले मृत्यु भइसकेको बताएको थियो । केही सञ्चारमाध्यमले भने सशस्त्र प्रहरी बलका इन्स्पेक्टर जीवन मल्ल ठकुरीको सनकका कारण उनको ज्यान गएको आरोप लगाए । गोली लागेर ढलेको अवस्थामा मृतकलाई सशस्त्र प्रहरीको गाडीले नै धुलिखेल अस्पताल ल्याएको थियो ।

हत्याको यस घटनाको उजुरी र छानबिन भएको देखिन्न । राष्ट्रिय मानव अधिकार आयोग र जिल्लाका मानव अधिकारकर्मीहरूले घटनास्थलको अवलोकन गरेका छन् । स्थानीय निर्वाचनको अघिल्लो दिन भएको यस घटनाका कारण त्यहाँ रोकिएको मतदान प्रक्रिया जेठ ३ गते भएको छ । मृतक परिवारको माग बमोजिम शहीद घोषणा र परिवारलाई रोजगारीको कुरा भएपछि निर्वाचनको मिति तय भएको हो । मृतककी पत्नी र एक छोरा रहेका छन् ।


भोजराज तिमल्सिना