गोरीकला हत्या घटनाको अधिकारकर्मीद्वारा स्थलगत अनुगमन

पञ्चपुरी नपा-३ निवासी एसर्इई परीक्षार्थी गोरीकला रोकायको हत्याको घटना सम्बन्धमा इन्सेकसहितको अधिकारकर्मीको टोलीले चैत १५ गते स्थलगत अनुगमन गरेको छ ।

घटनाको सत्यतथ्य पत्ता लगाई पीडितलाई न्याय र पीडकलाई कारवाहीको दायरामा ल्याउन सहयोग पुर्‍याउने उद्धेश्यले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेतको अगुवाईमा दलित महिला सङ्घ, मानव अधिकार तथा शान्ति समाज र गैरसरकारी संस्था महासङ्घको टोलीले स्थलगत अनुगमन गरेको हो ।

अनुगमन टोलीले घटनास्थल बाबियाचौरमा गई मृतकका आफन्त, उनका साथी, एसर्इई दिइरहेको विद्यालयका शिक्षक शिक्षिका, प्रहरी, प्रत्यक्षदर्शी, गोरीकला डेरा गरी बसेको घरबेटी, घटनास्थल र घटनाका आरोपितसँग भेटघाट गरेको इन्सेक जिल्ला प्रतिनिधि दुर्गा थापाले बताए । थप अध्ययन गरेर प्रतिवेदन सार्वजनिक गरिने पनि उनले बताए ।

एसर्इई दिइरहेकी गोरीकलाको ०७४ चैत १३ गते बिहान भएको हत्यामा संलग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय बाबियाचौरमा कार्यरत ट्राफिक प्रहरी जवान २८ वर्षीय हरिप्रसाद कोइराला, पञ्चपुरी नपा-८ का २० वर्षीय लक्ष्मी बास्तोला र उनका दाजु २८ वर्षीय खुमप्रसाद वास्तोलालाई प्रहरीले गिरफ्तार गरिसकेको छ ।

गोरीकलाको हत्या भएकै दिन गिरफ्तार गरिएका कोइरालासहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखी आवश्यक अनुसन्धान गरिरहेको डिएसपी श्यामसिं चौधरीले बताए । प्रहरीले चैत १४ गते पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार गोरीकलाको मृत्यु हुनुमा कोइराला, लक्ष्मी र खुमप्रसादको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएपनि बलात्कार भए नभएको भन्ने बारेमा खुल्न सकेको छैन् ।


इन्सेक कार्यालय, नेपालगञ्ज