गोरीकला हत्याका दोषीलाई कडा कारवाही गर्न प्रदेश सांसदहरूको माग

बाबियाचौरमा एसर्इई परीक्षा दिइरहेकी पञ्चपुरी नपा-३ की १८ वर्षीया गोरीकला रोकाय हत्याका दोषीलाई कर्णाली प्रदेशका सांसदहरूले कडा कारवाही गर्नुपर्ने माग गरेका छन् ।

कर्णाली प्रदेशसभाको चैत १६ गते सुरू भएको पहिलो अधिवेशनको छैठौँ बैठकमा सहभागी सांसदहरूले विशेष समयमा बोल्दै गोरीकलाको हत्यामा संलग्नको पहिचान गरी कुनैपनि हालतमा उन्मुक्ति दिन नहुने कुरामा जोड दिएका छन् ।

बैठकमा सांसद पदमा खड्काले गोरीकलाको हत्या घटनाले कर्णाली प्रदेशकै महिलाहरू असुरक्षित हुने अवस्था सिर्जना भएकोले दोषीलाई हदैसम्मको कारवाही गर्नुपर्ने माग गरिन् । सांसद विन्दमान विष्टले ट्राफिक प्रहरी हरि कोइरालाको संलग्नतामा गोरीकलाको हत्या भएको हुँदा प्रहरीको अनुसन्धानमा रहेका कोइराला पञ्चपुरी-८ का २० वर्षीय लक्ष्मी बास्तोला र २८ वर्षीय खुमप्रसाद बास्तोलालाई कडा कारवाही गर्न माग गरे ।

'गोरीकलाको निर्मम तरिकाले हत्या मात्र गरिएको छैन, बलात्कारपछि हत्या गरिएको छ ।'-सांसद विष्टले भने-'हत्यामा संलग्न प्रहरी वा अन्य जो कोही हुन् उनीहरूलाई कडा कारवाही गरिनुपर्छ यसका लागि प्रदेश सरकार चुक्नु हुँदैन ।'

सांसद धर्मराज रेग्मीले यस घटनाले कर्णाली प्रदेशकै जनताको सुरक्षामा चुनौति दिएको उल्लेख गर्दै गोरीकलाको हत्यामा संलग्नहरूलाई कडा कारवाही गर्न प्रदेश सरकारसमक्ष माग गरे ।

यस्तै गोरीकलाको हत्यामा संलग्नहरूलाई कडा कारवाहीको माग गर्दै महिला सशक्तिकरण सञ्जाल सालकोटले चैत १६ गते जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ज्ञापनपत्र बुझाएका छन् ।

यसअघि जिल्लास्थित महिला अधिकारकर्मीहरूको टोलीले पनि जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय र कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै दोषीलाई कडा कारवाहीको माग गरेको छ ।


दुर्गा थापा