गोरखा नगरवासीलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क

गोरखा नगरपालिकाका स्थायी बासिन्दाले गोरखा अस्पतालबाट आधारभूत सेवा निःशुल्क पाउने भएका छन् ।

नगरपालिका र  गोरखा अस्पताल बिच आधारभूत सवास्थ्य सेवा प्रवाह सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा गोरखा नगरपालिकाका मेयर कृष्ण राना र अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । गोरखा नगर क्षेत्रका बासिन्दालाई स्वास्थ्य उपचारमा सहजताका लागि उक्त सम्झौता गरिएको हो ।

सम्झौता पछि ९८ प्रकारका औषधि र १८ प्रकारका ल्याब सेवा गोरखा नगरपालिकाका स्थानीयले निःशुल्क प्राप्त गर्ने गोरखा नगरपालिकाका मेयर रानाले बताउनुभयो । यसका साथै एक्सरे, नेवुलाइजेसन, ड्रेसिङ लगायतका थप १० सेवा निशुल्क नगरपालिकाका बासिन्दाले प्राप्त गर्ने छन् ।

यसका लागि चालु आर्थिक वर्ष नगरपालिकाले १५ लाख छुट्टाएको छ ।  निःशुल्क सेवा उपलव्ध गराए बापत गोरखा नगरपालिकाले आधारभूत स्वास्थ्य सेवा प्रदान गरेको प्रतिवेदनको आधारमा त्रैमासिक रूपमा अस्पताललाई रकम उपलव्ध गराउनेछ । यो देशभरका अन्य स्थानीय तहभन्दा फरक र पहिलो प्रयास भएको नगरपालिकाको दावी छ ।

‘आगामी वर्षबाट पनि यो कार्यक्रमलाई निरन्तरता दिदै जान्छौ,’ रानाले भन्नुभयोे । सम्झौता संगै नगरपालिकाका बासिन्दाले ओपिडि र आकस्मिक टिकट पनि निःशुल्क पाउने छन् । जनरल बेडमा भर्ना हुनेलाई बेड चार्ज र भर्ना निःशुल्क उपलब्ध हुने छ । सेवा प्रवाहमा सहजताका लागि गोरखा नगरपालिकाले दुइ जना स्वास्थ्यकर्मी अस्पतालमा खटाउने छ ।

गोरखा नगरपालिकामा स्थायी बसोबास गर्ने व्यक्तिहरूलाई नगरपालिकाले स्वास्थ्य कार्ड उपलब्ध गराउने छ । र सोहि कार्डको आधारमा नगरवासीले निःशुल्क स्वास्थ्य सेवा पाउने छन् । स्वास्थ्य कार्ड उपलब्ध नहुदा सम्म व्यक्तिको परिचय खुल्ने सरकारी कागजपत्र (नागरिकता, जन्मदर्ता, मतदाता परिचयपत्र, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतीपत्र, बसाइसराइपत्र वा विवाहदर्ता प्रमाण पत्र) को आधारमा नगरवासीको पहिचान गरि अस्पतालले आधारभूत स्वास्थ्य सेवा नगरवासीलाई निःशुल्क प्रदान गर्ने ब्यवस्था मिलाइएको छ ।

स्वास्थ्य बिमा नगरेकाहरुले उक्त सेवा लिन सक्नेछन् । उक्त सम्झौता पछि आर्थिक अभावले उपचारबाट वञ्चित हुने बाध्यता हट्ने विश्वास लिइएको र यसका लागि नगरपालिकाले अस्पतालमा सेवा कक्ष स्थापना गर्ने योजना रहेको नगर प्रमुख रानाले बताउनुभयो ।


हरिराम उप्रेती