गोरखा कारागारमा कैदीबन्दीबीच कुटाकुट, तीनजना हिरासतमा

टिभी हेर्ने विषयको विवादलाई लिएर गोरखा कारागारका कैदीबन्दीबीच कुटाकुट भएको छ । असार २७ गते राति कैदीबन्दीबीच भनाभन र कुटाकुट भएको जिल्ला गोरखा कारागारका प्रमुख शशिधर सुवेदीले बताए ।

'भित्र बस्दा सामान्य विवादमा भनाभन र कुटाकुट गरेछन् । हामीले राती नै कन्ट्रोल गर्‍यौँ ।'-उनले भने । कारागार घटनाको बारेमा कारगार व्यवस्थापन विभागमा जानकारी गराएको र सुक्ष्म ढङ्गले घटनाको अनुसन्धान भइरहेको उनले बताए ।

'प्रारम्भिक जानकारीमा टिभी हेरेर बसिरहेको ठाउँमा एउटाले तानेपछि झगडा सुरू भएको पायौँ ।'-'उनले भने-'तानातान पछि अर्कोले धकेल्यो, अर्कोले धकेल्यो गरेर झगडाले ठुलो रूप लिएछ ।'

घटनामा संलग्नताका आशङ्कमा विनोद पाण्डे, दिपेश राई र प्रकाश लामालाई राति नै कारागारबाट जिल्ला प्रहरी कार्यालयका हिरासतमा ल्याइएको छ । तत्काल घटना साम्य पार्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालयका हिरासतमा राखिएको प्रहरीको भनाई छ ।

'घटनाको बारेमा त बुझदैछौँ । संलग्न हुन् की भन्ने आशङ्कमा उनीहरूलाई ल्याएका हौँ ।'-जिल्ला प्रहरी कार्यालय, गोरखाका डिएसपी महेन्द्र नेपालले भने ।

कुन्कुन् कैदीबन्दीबीच कुटाकुट भएको हो भन्ने बारे भने घटना अनुसन्धानको क्रममा रहेकाले केही बताउन नमिल्ने कारागार प्रशासन र प्रहरीले जनाएको छ । जिल्ला कारागार गोरखामा जना ९९ जना कैदीबन्दी रहेका छन् ।


हरिराम उप्रेती