गोदाममा थुप्रियो मल तर किसानले पाएनन

दमौली स्थित कृषि सामाग्री कम्पनीको गोदाममा रासायनिक युरिया मल थुप्रिए पनि  तनहुँका कृषकले भने मल पाएका छैनन् । कोटा निर्धारण गर्न ढिलाइ भएकाले भण्डारण गरी राखिएको मल वितरण गर्न नसकिएको मल आपूर्ति गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड दमौलीले जनाएको छ ।

गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले वितरण गर्ने कोटा निर्धारण नगरेकोले मल वितरण गर्न नसकिएको कृषि सामग्री कम्पनी लिमिटेड दमौली शाखाका प्रबन्धक दिनेश शर्माले बताउनु भयो । शुक्रबार मात्रै १ सय ६३ टन मल आएपनि वितरण गर्न नसकिएको उहाँले बताउनु भयो ।

तनहुँमा मलको माग ६ सय टनको भएपनि २ सय टन मात्रै आउने सम्भावना भएकोले मलको अभाव हुने शर्माले बताउनु भयो । पर्याप्त मल नहुँदा मन्त्रालयले पनि कोटा निर्धारण गर्न नसकेको उहाँको भनाई छ । सरकारी अनुदानको रासायनिक मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले कर्पोरेसनले बजार मागअनुसार रासायनिक मल ल्याउन नसक्दा किसानलाई मलको अभाव देखिएको हो ।

देवघाट गाउँपालिका–५ का कृषक केशवचन्द्र न्यौपानेले धानमा मल राख्नेबेला भइसक्दा समेत मल नपाइएको बताउनु भयो । समयमा मल नपाउँदा उत्पादन घट्ने अवस्था आएको उहाँले बताउनुभयो ।

व्यास नगरपालिका–५ पाटनकी मनिसरा आलेले यस वर्ष पनि विगतका वर्ष जस्तै रासायनिक मल अभावले गर्दा उत्पादन घट्ने चिन्ता भएको बताउनु भयो ।

मलको कोटा छिटो छुट्टयाउन मन्त्रालयमा बारम्बार ताकेता गरिरहेको शाखा प्रबन्धक शर्माले बताउनु भयो । धान बालीमा कम्पोष्ट मलको प्रयोग हुन छाडिसकेको र सबैतिर रासायनिक मलकै प्रयोग भइरहेकाले मलको अभावमा उत्पादनमा असर पर्ने देखिएको प्रबन्धक शर्माले बताउनुभयो ।

rasayanik-mal


प्रकाशचन्द्र भट्टराई