गुल्मीको उपनिर्वाचनका मतदाता बढे, एकिकृत सुरक्षा योजना बन्दै

  ०८१ कात्तिक २९ गते

गुल्मीमा आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मतदाता सङ्ख्या बढेको छ । ०७९ सालको तुलनामा झण्डै ३ सय मतदाता अहिले थपिएका छन् ।

मुसिकोट नगरपालिका–१ का वडाध्यक्ष मोहन घिमिरेको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो । निर्वाचन कार्यालय गुल्मीका अनुसार ०७९ सालको निर्वाचनमा कुल मतदाता सङ्ख्या ३ हजार ८ सय ८ रहेका थिए । अहिले सार्वजनिक मतदाताको अन्तिम नामवली अनुसार ४ हजार ९१ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकृत क्रृषिराम घिमिरेले जानकारी दिनुभयो ।

मुसिकोट नगरपालिका–१ मा तीन मतदान स्थल र पाँच मतदान केन्द्र रहेका छन् । अहिलेको नामवली अनुसार जनज्योति मावि अरेबा मतदान केन्द्रमा एउटा मात्र मतदान केन्द्र रहेको छ । सो केन्द्रमा केन्द्रमा ८ सय ९४ मतदाता रहेका छन् । गत निर्वाचनमा ८ सय ३ मतदाता रहेका थिए । त्यस्तै सरस्वती मावि मतदान स्थलको दुई मतदान केन्द्रमा १ हजार २ सय ९७ मतदाता कामय भएका छन् । सो केन्द्रमा गत निर्वाचनमा १ हजार २ सय ४२ मतदाता रहेको निर्वाचन अधिकृत घिमिरले बताउनु भयो ।

नेपाल राष्ट्रिय सर्बोदय मावि मतदान स्थलको दुई केन्द्रमा १ हजार ९ सय ४५ मतदाता कायम भएका छन् । गत निर्वाचनमा १ हजार ७ सय ४३ मतदाता रहेका थिए । यो केन्द्रमा सबैभन्दा धेरै २ सय २ जना बढी मतदाता थपिएका छन् । अहिले मुख्य दल नेकपा एमाले, कांग्रेस र माओवादी केन्द्रले उमेदवार टुङ्गो लगाएर चुनावी प्रचार–प्रसारमा लागेका छन् । एमालेबाट दल बहादुर थापा, कांग्रेसबाट आनन्द श्रेष्ट र माओवादी केन्द्रबाट दुर्गा बहादुर विक उमेद्वार बनेका छन् ।

निर्वाचनलाई लक्षित गरेर एकिकृत सुरक्षा योजना निर्माण गरिने जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले बताउनु भयो । मुख्य निर्वाचन अधिकृतसहित मतदात स्थलहरूको अनुगमन गरेकाले तीन ओटै सुरक्षा निकाय बसेर योजना निर्माण गरिने गौतमले जानकारी दिनुभयो । उहाँले आगामी कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर मनोनयनसहितका गतिविधि अगाडि बढाइने बताउनु भयो । अहिले मतदाता बढे पनि पुरानै मतदान स्थल र केन्द्रमै व्यावस्थापन हुने गौतमले बताउनु भयो ।

Photo14112024Gulmi


टोपलाल अर्याल