गुलरिया नपा-११ लालपुर र गणेशपुर क्षेत्रमा अनिश्चितकालिन कर्फ्र्यु

गुलरिया नपा-११ लालपुरमा असोज १५ गते मोर्हरमको ताजिया र दसैँको मुर्ति बिर्सजन गर्ने समूहबिच बाटो प्रयोग गर्ने विषयमा झडप हुँदा उत्पन्न तनावलाई नियन्त्रण गर्न जिल्ला प्रशासनले असोज १६ गते बिहानदेखि कर्फ्र्यु आदेश जारी गरेको छ ।

स्थानीय दुई पक्षबिच भएको झडपलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले लालपुर र गणेशपुरको ५ सय मिटर पूर्व, पश्चिम, उत्तर र दक्षिण चारैतिर कर्फ्र्यु जारी गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज खड्काका अनुसार असोज १५ गते भएको घटनाको विषयलाई लिएर असोज १६ गते बिहानैदेखि दुई पक्षबिच झडप भएको थियो । स्थिति नियन्त्रणमा ल्याउनको लागि अर्को सूचना जारी नगरेसम्म प्रशासनले कर्फ्यु लगाएको हो ।

गुलरिया नगरपालिका-११ लालपुरमा असोज १५ गते मोर्हरमको ताजिया र दसैँको मुर्ति बिर्सजन गर्ने समुहबिच बाटो प्रयोग गर्ने विषयमा झडप हुँदा नौ जना घाइते भएका थिए ।

झडपमा परी स्थानीय ३२ वर्षीया सुन्धारा रैदास, तीन वर्षीया बालिका रीता रैदास, १९ वर्षीय विष्णु राड, ६० वर्षीय गुडाना रैदास, ४२ वर्षीय देवीराम रैदास, ४० वर्षीय जगतपाल राड र ३५ वर्षीय सुखराना राड घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको उपचार जिल्ला अस्पतालमा भएको छ । हाल गणेशपुर क्षेत्रलगायत घटनास्थलको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । झडप नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड अश्रुग्यास र दुई राउण्ड हवाइ फायर गरेको थियो ।

हाल स्थिति शान्त रहेको भएपनि डिएसपी खड्काका अनुसार घटनास्थल वरिपरी सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल भारतको सिमालगायत नेपालगञ्ज गुलरिया सडक खण्डको मोम्मदपुर लालपुरमा सेना, सशस्त्र तथा प्रहरीहरू परिचालन गरिएको छ ।

घटनामा संलग्न दुवै समूहलाई जिल्ला प्रशासन कार्यालय बर्दियाले बोलाएर सहमति र सद्भावको लागि सम्वाद चलाइरहेको जनाइएको छ । कर्फ्र्युका कारण नेपालगञ्ज गुलरिया हुलाकी सडक खण्डमा कुनै पनि सवारीका साधन चल्न पाएका छैनन् ।


मानबहादुर चौधरी