गुणस्तरीय शिक्षा नभएको भन्दै विद्यालय छोड्दै विद्यार्थी

  २०८१ जेठ १४

जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाको उच्च हिमाली भेग क्षेत्रमा अत्याधिक चिसो हुने र दक्ष शिक्षकहरू त्यस क्षेत्रका विद्यालयमा जान नमानेपछि गुणस्तरीय शिक्षा नभएको भन्दै विद्यार्थीहरु विद्यालय छोड्न बाध्य भएका छन् ।  गुणस्तरीय शिक्षा नभएको कारण देखाउँदै अभिभावकहरूले आफ्ना बालबालिकालाई विद्यालयबाट छुटाउन बाध्य भएका हुन ।

विद्यालयमा नियमित रुपमा शिक्षक उपस्थिति नहुनु र भए पनि गुणस्तरीय शिक्षा प्रदान नहुनु जस्ता विभिन्न समस्याले अधिकांश बालबालिकाका अभिभावकहरुले गाउँको विद्यालय छोडेर सहरका विद्यालय केन्द्रित गर्नु परेको यारी गाउँका स्थानीय अभिभावक उर्गेन लामाले बताउनुभयो ।

शिक्षा जस्तो क्षेत्रमा नियमितता नभइ पायक परेका समयमा मात्रै शिक्षकहरू विद्यालयमा उपस्थिति हुनु र गुणस्तरीय शिक्षा प्रदान नहुने भएपछि गाउँका विद्यालय खाली गरेर सहरका विद्यालयमा केन्द्रित गर्नु हाम्रो रहर नभइ बाध्यता भएको उहाँको भनाइ छ ।

नाम्खा गाउँपालिका–४ स्थित हिमालयन आधारभूत विद्यालयमा यस वर्ष १० जना विद्यार्थी भर्ना भए पनि ६ जना बालबालिका अध्ययनरत छन् । त्यस्तै गरी वडा नम्बर ५ को यारी गाउँ स्थित अरनिको प्राथमिक विद्यालयमा  नौ जना विद्यार्थी भर्ना भए घटेर दुई जना मात्रै अध्ययनरत छन् । त्यसै गरी, वडा नम्बर ६ स्थित हिमशिखर आधारभूत विद्यालयमा गत वर्ष नौ जना र सोही वडाको भृकुटी आधारभूत विद्यालयमा १२ जना भए पनि विद्यार्थी नहुँदा दुई ओटै विद्यालयहरू बन्द भएका छन् ।

बाबालिकाले विद्यालय छोड्ने क्रम वृद्धि भएको छ । यो समय प्राथमिक तहसम्म पठनपाठन हुने अरनिको प्राथमिक विद्यालयमा बालविकासका विद्यार्थी मात्र पढ्न आउने गरेका छन् । उक्त विद्यालयमा दुई जना विद्यार्थी र तीन जना शिक्षक कार्यरत रहेका छन् ।

प्रधानाध्यापक हरिनारायण चौधरीले प्राथमिक तहको विद्यालयमा बालविकासमा दुई जना विद्यार्थीले अध्ययन गर्दै आएको जानकारी दिँदै आफूसहित तीन जना शिक्षकले विद्यालयमा पठनपाठन गर्ने गरेको बताउनुभयो । तीन जना शिक्षकमा दुई जना प्राथमिक तहका दरबन्दीका शिक्षक र एक जना बालविकासको सहजकर्ता हुनुहुन्छ उहाँले भन्नु भयो । कक्षा पाँचसम्म पठनपाठन हुने उक्त विद्यलायमा कक्षा एकदेखि पाँचसम्म अध्ययन गर्ने विद्यार्थी भने छैनन् । बालविकासको पढाइ सकिए लगत्तै अभिभावकले ती विद्यार्थीलाई अन्यत्रै पठाउने भएको कारण विद्यालयमा विद्यार्थी नभएको उहाँले बताउनुभयो ।

गत वर्षसम्म सात जना विद्यार्थी उक्त विद्यालयमा अध्ययन गर्दै आएका थिए । बालविकासका दुई जना विद्यार्थी मात्र रहेका छन् । मन लागेका बेला विद्यालयमा आउने भएको शिक्षक विद्यार्थीलाई कुरेर विद्यालयमा बस्न पर्ने बाध्यता छ । यसरी विद्यालय खाली हुने गरी विद्यार्थीलाई अन्यत्र नपठाउन अभिभावकलाई पटक पटक आग्रह गर्दा पनि नमानेको प्रधानाध्यापक चौधरीको भनाइ छ ।

नाम्खा गाउँपालिका शिक्षा शाखाका प्रमुख मनराज बुढाले सानैमा विद्यार्थी विद्यालय छोड्ने समस्या गाउँपालिकाभरि भएको र बढी अरनिको प्राथमिक विद्यालयमा देखिएको उहाँले बताउनुभयो । उक्त विद्यालयलाई समयोजना गर्न पनि कठिन भएका कारण थोरै विद्यार्थीहरू भएपनि तत्काल समायोजन गर्न सकिने अवस्था नरहेको जानकारी दिनुभयो । केही अभिभावकले विद्यार्थीहरूलाई विद्यालयमा भन्दा पनि गुम्वामा पढाउन उपयुक्त ठान्ने र केहीले सहर केन्द्रित गर्न थालेपछि गाउँका विद्यालयहरू खाली हुन थालेको प्रमुख बुढाको भनाइ छ ।

उहाँका अनुसार विद्यालय नै खाली हुने गरि छोड्न थालेपछि खाली भएका विद्यालयका शिक्षकहरूलाई अर्को विद्यालयमा पठाउने गरिएको छ । क्षेत्रफलका आधारमा नेपाल कै ठुलो नाम्खा गाउँपालिकामा विद्यार्थी नभएर विद्यालय बन्द गर्नु परेको छ । यसअघि लिमीका दुई ओटा विद्यालय पनि बन्द भइसकेका छन् ।


नन्द सिंह