गुणस्तरहीन खाना खुवाएको भन्दै जिल्ला कारागार भित्र नाराबाजी र तालाबन्दी

  ०७६ पुस १३ गते

कारागार भित्र रहेको क्याण्टिनमा गुणस्तरहीन खाना खुवाएको भन्दै जिल्ला कारागार, चरिकोटका कैदीबन्दीले पुस १३ गते कारागार भित्रै नाराबाजी गर्दै ताला समेत लगाएका छन् ।

नाइके कैदीले अरु कैदीबन्दीलाई कुटपिट गर्ने, गुणस्तरहीन खाना खुवाउने र पैसा समेत ठग्न थालेपछि नाइकेविरुद्ध तालाबन्दी गर्दै नाराबाजी गरिएको अरु कैदीबन्दीले बताएका छन् ।

चरिकोट कारागारमा रहेका १ सय ८ जना कैदीबन्दीमध्ये कारागारका नाइके, चौकीदार, भाइनाइके विरुद्ध १ सय ३ जनाले कारागारका भित्री प्रवेश द्वारमा तालाबन्दी गरेका हुन् ।

आन्तरिक प्रशासनविरुद्ध तालाबन्दी र नारबाजी भएको कारागार निमित्त प्रमुख शेषराज गोलेले बताउनु भयो ।

नाइके कैलाश बस्नेतसहित पाँच जनाले १५ लाख रुपियाँ ठगी गरेकोले रकम फिर्ता गरी पाँचै जनालाई अन्यत्र कारागार सार्नुपर्ने आन्दलोलनरत बन्दी अशोक केसीले माग गर्नुभयो ।

दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले मौजुदा अवस्थामा कैदी बिच ज्यानकै जोखिम हुने देखिएकोले कैलाश बस्नेत, ओमशरण थापा, राजकुमार योगी, कमल नेपाली र किशोर भण्डारीलाई अन्य कारागारमा स्थानान्तरण गरिने बताउनुभयो ।


उद्धव पोखरेल