गुडिरहेको सवारी साधनमा जनमत पार्टीका कार्यकर्ताद्वारा आगजनी र तोडफोड

  ०७८ पुस १८ गते

सिके राउत नेतृत्वको जनमत पार्टीले गरेको आमहड्तालको क्रममा प्रदर्शनकारीहरुले पुस १६ गते अग्नीसाइर कृष्णसवरण गाउँपालिका–६ स्थित महुली पुलमा ना.६ ख ७६२९ नम्बरको मालवाहक ट्रकमा आगजनी गरेका छन् ।

प्रहरीले आगो नियन्त्रणमा लिएपनि क्लिंकर बोकेको ट्रकको अगाडिको भाग जलेर क्षति पुगेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी माधवप्रसाद काफ्लेले बताउनु भयो ।

यसैगरी हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहमा प्रदर्शनकारीहरुले को.१ ख ६९८३ नम्बरको टिपर र बा.१९च ५२९२ नम्बरको कारको सिसा तोडफोड गरी क्षति पुर्‍याएका छन् ।

मोटरसाइकलमा आएका सो पार्टीका कार्यकर्ताहरूले तोडफोड तथा आगजनी गरेर भागेको सप्तरी प्रहरीले जनाएको छ । सवारी साधन तोडफोड र आगजनीमा संलग्नको पहिचान र खोजी भइरहेको डिएसपी काफ्लेले बताउनु भयो ।

हात–हातमा लाठी लिएर दिउँसो बजार तथा यातायात बन्द गर्न उत्रिएका जनमत पार्टीका जिल्ला संयोजक बिष्णुपुर गाउँपालिका–७ का ५४ वर्षीय किसान मण्डल, सचिव हनुमाननगर कङ्कालिनी–१ का ४९ वर्षीय थानेश्वर साह, सोही ठाउँका ४० वर्षीय सुरेन्द्र मण्डल, ४३ वर्षीय पङ्कजकुमार सिन्हा, ३० वर्षीय रामकृष्ण मण्डल, हनुमाननगर कङ्कालिनी–२ की ४१ वर्षीया सुशिला यादव, हनुमाननगर कङ्कालिनी–४ का २५ वर्षीय प्रदिपकुमार मण्डल, हनुमाननगर कङ्कालिनी–६ का ४० वर्षीय राजकुमार रजक, कञ्चनरुप नगरपालिका–१ का ३० वर्षीय अनिल पञ्जियार र २८ वर्षीय पप्पु पञ्जियार, कञ्चनरुप नगरपालिका–३ का ३३ वर्षीय पिङ्कु मण्डल, सोही ठाउँका ४२ वर्षीय बिरेन्द्रकुमार मण्डल, डाक्नेश्वरी नगरपालिका–३ का २५ वर्षीय रुपेशकुमार यादव, बिष्णुपुर गाउँपालिका–४ का ५८ वर्षीय योगेन्द्र साहलाई इलाका प्रहरी कार्यालय कञ्चनरुपले गिरफ्तार गरेको र सोही राात रिहा गरेको प्रहरलेजनायो ।

आगजनी गर्नेहरूको पहिचान गरी कारवाही गर्न अनुसन्धान भइरहेको डिएसपी काफ्लेले बताउनु भयो ।

बन्द सफल पार्न विष्णुपुर गाउँपालिका, कञ्चनरुप र डाक्नेश्वरी नगरपालिकालगायत विभिन्न स्थानबाट जनमत पार्टीका कार्यकर्ता भारदहमा भेला भएका थिए ।

सिरहाको औरही गाउँपालिकाले किसानलाई वितरण गर्न खरिद गरेको गहुँको बिउ लुटपाटमा संलग्न व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको विरोधमा सुरु भएको विरोध प्रदर्शन अन्य जिल्लामा समेत फैलिएको छ ।


मनोहरकुमार पोखरेल