गुठीपीडित मोही किसानद्वारा प्रशासन कार्यालयमा धर्ना

स्वर्गद्वारी गुठीपीडित किसानले मोही अधिकारको माग गर्दै १४ दिनदेखि जिल्ला प्रशासन कार्यालय दाङमा धर्ना दिएर बसिरहेका छन् ।गुठीपीडित मोही किसान सङ्घर्ष समितिको आयोजनामा किसानहरू फागुन ८ गतेदेखि जिल्ला प्रशासन कार्यालय दाङको गेटमा आवासीय धर्ना दिएर बसेका हुन् । स्वर्गद्वारी गुठीको १ हजार ५० बिगाहा जमीनमध्ये ७ सय ५३ दशमलव ४ बिगाहा जमीनमा किसानको मोही कायम छ । तीन पुस्तादेखि भोगचलन गर्दै आएका किसानहरूले कानुन बमोजिम मोही अधिकार पाउनुपर्ने र बाँकी जमीन सरकारी दरमा किसानलाई नै खरिद गर्न दिनुपर्ने माग गर्दै आएका छन ।

मोही अधिकार दिन स्वर्गद्वारी गुठी पनि सकारात्मक देखिएको तर सर्वोच्च अदालतले ०६२ फागुन १४ गते स्वर्गद्वारी गुठी विशेष प्रकारको गुठी भन्दै खण्डीकरण नगर्न परमादेश जारी गरेपछि किसानहरू मोही अधिकारबाट वञ्चित भएको उनीहरूको भनाई छ । ०७२ मा नयाँ संविधान आइसकेकोले संविधानले गुठी समस्या समाधान गर्न कानुन बनाउने अधिकार दिएको भन्दै कानुन ल्याएर गुठीपीडित मोही किसानका माग सम्वोधन गर्न सरकारसँग माग गरेको स्वर्गद्वारी गुठीपीडित मोही किसान सङ्घर्ष समिति दाङका संयोजक प्रभु चौधरीले बताउनु भयो ।

स्वर्गद्वारी गुठीको दाङका १२ मौजामा ३ हजार ५ सय घरधुरीका १६ हजार २ सय ६७ किसान आश्रित छन । मोही किसानहरूको आन्दोलनमा ऐक्यवद्धता जनाउन आउनु भएका भुमिअधिकारकर्मी जगत देउजाले किसानहरूको माग सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने बताउनु भयो । सरकारले किसानहरूसँग वार्ता गर्न फागुन १७ गते ५ सदस्यीय वार्ता समिति गठन गरेको छ । आन्दोलनरत किसान र सरकारी समितिवीच वार्ताको तयारी भएको सङ्घर्ष समितिले जनाएको छ ।

photo20240304dang (1) photo20240304dang (2) photo20240304dang (3) photo20240304dang (4)


जयनारायण पुन