गुठीको जग्गाको कारण भूकम्पपीडित अनुदान सम्झौताबाट वञ्चित

सरकारले भूकम्प पीडितहरूलाई निजी आवास निर्माणको लागि अनुदान रकम प्रदान सम्झौता प्रक्रिया अघि बढाए पनि नुवाकोटका तीन गाविसमा सयौं भूकम्पपीडित भने सम्झौताबाट वञ्चित भएका छन् ।

सरकारले गुठीको जग्गामा बस्नेहरूको लागि सम्झौता गर्ने नीति नबनाएको भन्दै गाविस सचिवले सम्झौता गराउन अस्वीकार गर्दै आएका छन् । जिल्लाको सबैभन्दा दुर्गम गाविस घ्याङफेदी, शिखरवेसी र लच्याङ गाविसमा भूकम्प पीडितहरू सम्झौताबाट वञ्चित भएका हुन् ।

गुठीको जग्गामा वर्षौंदेखि बस्दै आएका भूकम्प पीडितहरूसँग आफ्नो नाममा जग्गाधनी प्रमाणपत्र नभएपछि सम्झौता नभएको हो ।

उक्त समस्याको कारण घ्याङफेदी गाविसमा अहिलेसम्म एक जनाको पनि निजी आवास निर्माणको लागि अनुदान सम्झौता हुन नसकेको गाविस सचिव राजु अधिकारीले बताए । 'सरकारले गुठीको जग्गाको लागि के गर्ने भनेर निर्णय गर्नासाथ हामी काम थाल्छौं । तर, के गर्ने भन्ने निर्णय नआएकाले रोकिएको हो ।'-उनले भने ।

घ्याङफेदी गाविसको पुरै भूभाग रसुवाकोट धार्मिकस्थल गोसाईकुण्डको नाममा रहेकोले यो समस्या आएको गाविस सचिव अधिकारीले बताए । '१२ जनाको लालपुर्जा रहेछ । त्यो पनि घ्याङफेदीको नभई शिखरवेसी गाविसमा जग्गा भएकाहरूको हो । ८ सय ४ पीडित परिवारमध्ये १२ परिवारको मात्र के सम्झौता गर्नु ?'-अधिकारीले भने ।

यस्तै, शिखरवेसी गाविसका पनि ४ सय पीडित परिवारको गुठीकै जग्गाको कारण अनुदान सम्झौता हुन नसकेको गाविसका प्राविधिक सहायक रूद्रप्रसाद भट्टराईले बताए । शिखरवेसी गाविसमा पनि गोसाईकुण्ड गुठीको कारण सम्झौता रोकिएको हो ।

यस्तै, लच्याङ गाविसका भैरवी मन्दिरको गुठीको जग्गामा बसोबास गर्ने ८ सय ५४ परिवार भूकम्पपीडित सम्झौताबाट वञ्चित भएका छन् ।

गुठीको जग्गामा बसेको सयौं वर्षभइसकेको सबैलाई थाह हुँदा पनि सरकारले बेलैमा निर्णय नगर्दा घर बनाउने काम थाल्न नपाएको घ्याङफेदी-६ सिसिपूका राजु तामाङले बताए ।

'भूकम्प गएको १५ महिना नाघिसक्दा पनि निर्णय नहुनु दुःखद हो । अहिले पनि हामी गुठीको जग्गामा छौं । सरकारले आँखा चिम्लिएको छ । हामी कहिलेसम्म यसरी बस्ने ?'-तामाङले भने-'अरू गाविसमा सम्झौता धमाधम भइरहेको छ । हाम्रो के हुन्छ केही थाह छैन ।'

सरकारले बेलैमा निर्णय नगरेको कारण गुठीको जग्गामा बस्दै आएकाहरू सम्झौताबाट वञ्चित भएको जिल्ला आयोजना कार्यन्वयन इकाईका प्रमुख लोकनाथ रेग्मीले बताए ।


नवदीप श्रेष्ठ