गाविस सचिव सदरमुकाम बस्दा सेवाग्राहीलाई दोहोरो सास्ती

गाविस सचिवहरू गाउँमा नबस्दा रामेछापको प्रिती गाविसमा रहेको इलाका प्रशान कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्रलगायतको सेवा लिने सेवाग्राहीले दोहोरो सास्ती व्यहोर्नुपरेको छ ।

इलाका प्रशासन कार्यालयले नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्ने भए पनि त्यसको लागि गाविसको सिफारिस लिन सदरमुकाम पुग्नुपर्ने स्थानीयले गुनासो गरेका छन् ।

गाविस सचिवहरू गाउँमा नबस्दा सर्वसाधारणलाई सेवा प्रवाहमा समस्या भएको इलाका प्रशासन कार्यालय प्रितीका प्रमुख मकरध्वज खड्काले जानकारी दिए । 'गाविसको सिफारिस नभइ नेपाली नागरिकताको प्रमाणपत्र दिन सकिँदैन ।'

'तर, गाविस सचिव सदरमुकाममा हुन्छन् । गाउँका सेवाग्राही सिफारिस बनाउन सदरमुकाम जाने र नागरिकता लिन गाउँ आउनु पर्छ । स्थानीयलयाई गाउँघरमा नै सेवा दिन स्थापना गरेको कार्यालयले उल्टो दुःख दिए जस्तो पो भएको छ ।'-खड्काले भने ।

रामेछापको उत्तरी भेगका गुम्देल, चुचुरे, बाम्ति, कुभकास्थली, गुप्तेश्वर, भुजी, प्रिती, ठोसे, रस्नालुलगायतका गाविसका नागरिकहरूलाई पायक पर्ने गरी प्रितीको लाप्चानेमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको थियो । ती गाउँका नागरिकलाई सदरमुकाम मन्थली आउन मात्रै दुई दिन लाग्छ ।

गाविस सचिवहरूलाई गाउँमा नै बसेर सेवा दिन जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय, स्थानीय विकास मन्त्रालय र सरकारलेसमेत पटकपटक निर्देशन दिइसकेको छ । तर, गाविस सचिवहरू अहिले पनि सदरमुकाममा नै बस्दै आएका छन् ।


नवराज पथिक