गाविस सचिवले सामाजिक सुरक्षा भत्ता वितरण नगरेको भन्दै गाँउ परिषद स्थगित

  ०७३ पुस ५ गते

गाविस सचिवले गाउँमा सामाजिक सुरक्षा वापतको रकम वितरण नगरेको भन्दै पुस २ गते तय गरिएको राया गाविसको नवौँ गाउँ परिषद राजनीतिक दलका तर्फबाट स्थगित गराइएको राया गाविस-१ का स्थानीयबासी विष्णुबहादुर शाहीले बताए ।

पुस २ गते गाउँ परिषद सञ्चालन गर्ने विषयमा रायामा बसेको स्थानीय राजनीतिक दलहरूको बैठकले परिषद अनिश्चितकालका लागि स्थगित गराएको स्थानीयबासी सुत रावलले जानकारी दिएका छन् ।

परिषदले विभिन्न शीर्षकमा ३१ लाख ४९ हजार रकम विनियोजित गर्ने योजना बनाएको भएपनि बैठकमा दलका प्रतिनिधिले गाविस सचिवले जिल्ला विकास समितिबाट सामाजिक सुरक्षातर्फको रकम निकासा गरेपनि गाउँमा वितरण नगरेको भन्दै सचिव मेगनाथ शाहीको विरोध गरेपछि परिषद स्थगित भएको राया गाविस-१ का स्थानीयबासी बमबहादुर शाहीले बताए ।

सामाजिक सुरक्षा भत्ता गाउँमा वितरण नगर्दासम्म परिषद सञ्चालन गर्न नदिने अडान सबै दलले बैठकमा एकमतका साथ राखेपछि सचिव शाहीले छिट्टै रकम वितरण गर्ने र पुस महिना भित्र परिषद सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

यस वर्षको सामाजिक सुरक्षा भत्ताको पहिलो चौमासिक दसैँ अगाडि नै अख्तियारी भई गाविसमा आएको भएपनि सचिवले उक्त भत्ता हालसम्म वितरण नगरेकोले परिषद अबरुद्ध बनाएको स्थानीय सेवाग्राहीले बताए ।

गाविस सचिवले जिविसबाट गत कात्तिक ५ गते ९ लाख ४३ हजार २ सय रुपियाँ बुझेको निमित्त स्थानीय विकास अधिकारी देवी ऐडीले बताए ।

निमित्त स्थानीय विकास अधिकारी ऐडीले भने-'जसले जनताको रकम हिनामिना गर्छ । उ स्वतः कारबाहीको दायरामा आउँछ । गाविस सचिवलाई पनि कारबाहीको प्रकृया अघि बढाउँछौ ।'

जिल्ला विकास समितिको कार्यालयका अनुसार राया गाविसमा सामाजिक सुरक्षा भत्ता पाउनेहरूमा ज्येष्ठ नागरिकतर्फ १ सय २७ जना रहेका छन् । जिविसका अनुसार ज्येष्ठ नागरिकबाहेक २५ जना एकल महिला, पूर्ण अपाङ्गता भएका दुई जना र असहाय अपाङ्गता शीर्षकमा दुई जनाले सामाजिक सुरक्षा भत्ता पाउनु पर्छ ।


नन्द सिंह