गाविस सचिवले कार्यालयको छाप प्रशासनमा बुझाएपछि सेवाग्राही मर्कामा

  ०७३ माघ २० गते

नेपाल सरकारले गाविस सचिवलाई दिँदै आएको 'इन्सेन्टिभ भत्ता' कटौती गरेको र स्थानीय निर्वाचन हुनुपर्ने लगायतका माग गर्दै जिल्लाका २७ ओटा गाविसका सचिवहरूले गाविस कार्यालयका छाप माघ १९ गते जिल्ला प्रशासन कार्यालयमा बुझाएपछि सेवाग्राही मर्कामा परेका छन् ।

गाविस सचिवले कार्यालयको छाप प्रशासन कार्यालयमा बुझाएपछि नागरिकता र पासपोर्ट   सिफारिसमा समस्या भएको डाँडाफया गाविसका स्थानीयबासी अङ्गबहादुर शाहीले गुनासो गरे ।

गाविस सचिवहरूले छाप बुझाउन जिल्ला विकास समिति पुगेको भएपनि स्थानीय विकास अधिकारी बलदेवप्रसाद जोशीले छाप बुझन नमानेपछि जिल्ला प्रशासन कार्यालयमा बुझाइएको बर्राई गाविसका सचिव टङ्कदत्त प्याकुरेलले बताए ।

सेवाग्राहीको काम प्रभावित हुन नदिन माघ २१ गते प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी र गाविस सचिवको संयुक्त बैठक बसी समस्या समाधान निकाल्ने स्थानीय विकास अधिकारी बलदेव जोशीले बताए ।


नन्द सिंह