गाविस कार्यालय छेउबाटै परिचय पत्रको लागि याचना !

पहिलो चरणमा हरेक किसिमका सिफारिस वा न्यायका लागि गाउँ विकास समितिमा जानुपर्छ । गाविसबाट लिन सक्ने सेवा गाविसबाटै लिन्छ र जिल्लाबाट लिनुपर्ने सेवाका लागि गाविसको सिफारिसपत्र लिएर जिल्लामा पुग्छ । तर, यहाँका एक जना अपाङ्गता भएका व्यक्ति गाविस कार्यालय छेउबाटै अपाङ्गता परिचयपत्रका लागि याचना गरिरहेका छन् ।

चिदीपानी गाविसको वडा नं. ९ । यो चिदीपानी गाविसकै मुख्य चोक हो । उनको घरबाट १ सय मिटरको दुरी भित्रै गाविस कार्यालय छ । नजिकै स्वास्थ्य चौकी पनि छ । माध्यमिक विद्यालय पनि यही छ । यहाँका एक जना अधवैंशे ब्यक्ति बाटो छेउको कटेरोमा बाटोमा हिँडिरहेका सवारी साधन र बटुवाहरूतिर हेरेर बर्बराइरहेका हुन्छन् । उनको नाम बम बहादुर घर्तीमगर हो । उनी अहिले ५० वर्षका भए । पत्नीले पनि छाडिन् । दुई छोरा छन् । उनीहरूले पनि काठमाडौँमा अनाथालयमा पढ्छन् । बाटो छेउमा बसेर गरिरहेको उनको याचना थोरैले मात्रै सुन्छन् र दुईचार रुपियाँ दिइहाल्छन् । धेरैले मतलबै गर्दैनन् । समुदायस्तरबाटै उनलाई पालैपालो खान दिने गरिएको छ ।

यो बाटो धेरै विशिष्ट व्यक्तिहरू गाडीमा हुँइकिएका छन् । पाल्पाका प्रमुख जिल्ला अधिकारी, एसपीसहित महिला तथा बालबालिका कार्यालयकी प्रमुखसमेत दर्जनौँ पटक यहिबाटो ओहोरदोहोर गरिसकेका छन् । तर, प्रशासनिक व्यक्तिहरूको नजरमा बमबहादुर कहिल्यै परेनन् । उनी अपाङ्गताका कारण हिँड्डुल गर्न मात्रै नसक्ने हुन् ।

प्यारलाइसिसका कारण दुई वर्षदेखि उनको देब्रे हर चल्न छोडेपछि उनलाई समुदायका मान्छेहरूले मिलेर बाटो छेउमा कटेरो बनाएर राखिदिएका हुन् । "अपाङ्गता परिचय पत्र छैन । पोहोर गाविसले एक हजार रुपियाँ दिएको थियो । यसपालि त्यही पनि पाईँदैन भन्ने सुनेको छु ।"-बम बहादुरले भने । परिचय पत्र बनाउन सदरमुकाम धाउन आफूले नसक्ने र आफ्नो बारे परिचय पत्र बनाइदिने विषयमा खास बोलिदिने मान्छे नभएकोले पनि परिचय पत्र पाउन नसकेको उनले बताए ।

गाविस सचिव मनिशा रोकाले आफूले बमबहादुरलाई उनकै कटेरोमा पुगेर भेटेको आफ्नो पनि मन छोएको र बमबहादुरले सदरमुकाम आएर अपाङ्गता परिचयपत्र लिन सक्ने अवस्था नरहेकोले उनलाई 'फिल्ड'मै गएर परिचय पत्र दिलाउन सके राम्रो हुने र यसका लागि आफूले सम्बन्धित निकायमा पहल गर्ने बताइन् ।


यज्ञमूर्ति तिमिल्सिना