गाउँ टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण, लाभग्राही खुशी

  ०८१ माघ ७ गते

सामाजिक सुरक्षा भत्ता लिनकै लागि गाडी चढेर बैङ्कसम्म पुग्नुपर्ने झण्झट रहेकोमा गाउँ टोलबाटै भत्ता बुझ्न पाएपछि लाभग्राही खुशी भएका छन् । पाल्पाको बगनासकाली गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण र स्वास्थ्य सेवा सहितको वडास्तरीय घुम्ती शिविर मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

Photo20012024Palpa1

शिविरमा सामाजिक सुरक्षा भत्ता वितरण, परामर्श, स्वास्थ्य चेकजाँच एवम् औषधि वितरण सहितको सेवा प्रदान गरिएको गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले बताउनु भयो । गाउँपालिकाले चाडवाडलाई मध्यनजर गरी चालु आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ताको दोस्रो किस्ता पुस महिनाको तेस्रो साता नै लाभग्राहीको खातामा रकम जम्मा गरिदिएको थियो । बैङ्कसम्म पुग्न नसक्ने, असक्त, ज्येष्ठ नागरिक र अपाङ्गता भएका लाभग्राहीलाई घरदैलोमै सहज सेवा प्रवाह गर्ने उद्देश्यका साथ नियमित सामाजिक सुरक्षा भत्ताहितको शिविर समेत सञ्चालन गर्दै आएको छ ।

Photo20012024Palpa2

सामाजिक सुरक्षा भत्तातर्फ दोस्रो त्रैमासिक अन्तर्गत कात्तिक, मङ्सिर र पुस महिनाको लागि ६८ वर्ष माथिका १ हजार ९ सय ८३ लाभग्राहीका लागि २ करोड ३४ लाख ४४ हजार ७ सय ७१ रुपिया, दलित जेष्ठ नागरिकतर्फ १ सय ४३ लाभग्राहीका लागि ११ लाख २७ हजार ८ सय ४० रुपैंया, ज्येष्ठ एकल महिलातर्फ २ सय ७१ जना लाभग्राहीका लागि २१ लाख ५९ हजार ९ सय २० रुपियाँ निकासा माग गरी लाभग्राहीको खातामा जम्मा भएको छ ।

त्यस्तैगरी विधवा आर्थिक सहायतातर्फ ४ सय ४१ लाभग्राहीको लागि ३५ लाख २२ हजार ४५ रुपियाँ, 'क' वर्गका ५२ लाभग्राहीका लागि ५ लाख ९९ हजार ३२ रुपियाँ, 'ख' वर्गका आर्थिक सहायताको लागि ६ लाख ७४ हजार ५ सय ७६ र १ सय ९३ दलित बालबालिकाको लागि २ लाख ९७ हजार ५ रुपियाँ निकासा भएको छ । गाउँपालिकामा दोस्रो त्रैमासिकमा ३ हजार १ सय ९१ लाभग्राहीले ३ करोड १८ लाख ७ हसजार ३ सय ८९ रुपियाँ निकासा भएको छ ।

Photo20012024Palpa


यज्ञमूर्ति तिमिल्सिना