गाउँमा बिजुली नहुँदा दियालोको भर, चिकित्सक भन्छन्, दियालोको धुँवाले स्वास्थ्य जोखिममा

  ०७९ असोज ११

विद्यालय पुग्न घरबाट करिब एक घण्टाको बाटो । गाउँमा बिजुली छैन । बालबालिकाले उज्यालोमा पढ्न नपाएको पिर । घरको कामले लखतरान । छोराछोरीको भविष्य उज्यालो बनाउने सपना देखेका कालीमाटी गाउँपालिका वडा नम्बर ७ काप्रेचौरका टेकबहादुर बिकले घरमा सोलार राखेको करिब एक दशक बित्यो ।

‘घरमा बिजुली जडान गर्ने, टिभि हेर्ने, घरआँगन झिलिमिली बनाउने सपना थियो, तर भर्खर गाउँमा पोल गाड्न थालिएको छ, उहाँले भन्नुभयो ‘पोल गाडेको ठाँउमा त बर्षौसम्म बिजुली बलेको छैन रे, हाम्रो गाउँमा झन के छिटो बिजुली आउला र ? टेकबहादुरले दुखेसो पोख्नु भयो ।
उहाँले गाउँमा बिजुली नहुँदा बर्षौदेखि दियालो र टुकिको भरमा जीवननिर्वाह गर्दै आएको भएपनि पछिल्लो समय सोलार जडान गरिएको बताउनुभयो । ‘घरमा उज्यालो बनाउने र छोराछोरीको पढाइमा सहजताको लागि सोलार जडान गरेको हुँ उहाँले भन्नुभयो ‘बिजुली आउने छाँट छैन्, सोलार पनि पुरानो हुँदै गएकाले २÷४ घण्टामा नै चार्ज सकिन्छ । उहाँका अनुसार काप्रेचौरका ५ सय बढी घरधुरीमध्ये केही गाउँमा मात्रै बत्ति बलेको छ ।

‘दिउँसो छोराछोरी स्कुल जान्छन । साँझ बत्ति नहुँदा गृहकार्य गर्न पनि मुस्किल हुन्छ, स्थानीय मुनी घर्तीको दुःखेसो छ । उहाँका अनुसार दियालोको जोहो गर्न वन नगई हुँदैन । बिहान गएपछि साँझ मात्रै घर फर्किनु पर्ने हुन्छ ।

दियालोको उज्यालोमा छोराछोरीको भविष्य खोजी रहेको बताउँर्दै उहाँले भन्नुभयो, हाम्रो पालामा त पढ्ने अवसर जुरेन, छोराछोरीलाई भने जसरी पनि पढाउन खोजेको छु । गाउँमा बिजुली भएको भए प्रविधिमा समेत पहुँच पुग्ने थियो र बाहिरी ज्ञान हासिल गर्न सकिने थियो होला उहाँले भन्नुभयो, तर यहाँ त दिउँसोको पढाइले मात्रै कति पुग्ने थियो र ?

समस्या कालीमाटी गाउँपालिकाको मात्रै हैन । बनगाड कुपिण्डे नगरपालिका–१ मा पनि विद्युतिकरणका लागि पोल गाडेको करिब पाँच वर्ष भयो । वर्षौ पहिले गाडिएका ती पोलमा खिया लागेको छ । बेवारिसे अवस्थामा पोल ठडिएका छन् । तर अझै बत्ति बल्न सकेको छैन् । स्थानीय इन्द्र डिसीले पोल गाडेको लामो समय हुँदा पनि माल्पे क्षेत्रमा बत्ति बल्न नसकेको बताउनुभयो ।

‘शुरुमा गाँउमा बिजुलीका पोल गाड्न थालेपछि स्थानीय निकै खुसी भएका थिए, अब अध्यारोमा बस्नु पर्दैन भनेर सबै उत्साहित थिए, उहाँले भन्नुभयो ‘आजभोली भन्दाभन्दै झण्डै पाँच बर्ष बढी भयो तर गाउँमा बत्ति बलेको छैन्, गाडिएका पोलमा खिया लागेको छ । उहाँले गाउँमा विद्युतिकरण गर्न ढिलाई हुदाँ नागरिकले दियालो र टुकिको भरमा जीवननिर्वाह गर्दै आएको बताउनुभयो ।

धुँवा स्वास्थ्यका लागि हानिकारक छ ः स्वास्थ्यकर्मी
यता स्वास्थ्यकर्मीहरूले दियालोबाट आउने धुँवा स्वास्थ्यका लागि हानिकारक हुने गरेको बताउँछन् । बिजुली नहँुदा विकल्पमा दियालो बाल्दा त्यसको धुँवाले स्वास प्रस्वासमा प्रत्यक्ष असर गर्ने जिल्ला स्वास्थ्य सेवा कार्यालय, सल्यानका डाक्टर अभिसेक सिंहले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो–‘दियालोको धँुवाले आँखासम्बन्धी विभिन्न रोग पनि लाग्छ । दियालोको प्रकाश बिजुली भन्दा कम हुने हँुदा बालबालिकाले पठनपाठन गर्दा पुस्तक आँखा नजिक लिएर पढ्नु पर्ने हुन्छ, जसका कारण आँखाको ज्योतीमा पनि असर पर्न जान्छ ।,

३५ दशमलव ६१ प्रतिशत जिल्लाबासी अझै बिजुलीको पहुँच बाहिर
जिल्लामा बिद्युतीकरणका लागि बर्षेनी करोडौँ रुपियाँ खर्च हुँदै आएपनि अझै जिल्लाका नागरिक बिजुलीको पहुँचमा पुग्न सकेका छैनन् । नेपाल बिद्युत प्राधिकरण सल्यान वितरण केन्द्र खलंगाका अनुसार जिल्लाका ३५ दशमलव ६१ प्रतिशत जिल्लावासी अझै बिजुलीको पहुँच बाहिर रहेका छन् । कार्यालयका सूचना अधिकारी मदन भण्डारीले हालसम्म जिल्लाका ६४ दशमलव ३९ प्रतिशतमा मात्रै बिद्युतिकरण गरिएको बताउनुभयो ।

‘सबैलाई बिजुलीको पहुँचमा ल्याउनको लागि संघ, प्रदेश र स्थानीय तहले पनि काम गरिरहेका छन्, अहिले जिल्लामा बिद्युतिकरणको काम तिव्रगतिमा भइरहेको छ, उहाँले भन्नुभयो ‘अबको केहीबर्षमा नै सबै नागरिकलाई बिद्युतको पहुँचमा ल्याउने हाम्रो लक्ष्य हो ।’ उहाँले बाँफुखोलाका करिब ३ सय घरधुरी स्थानीय लघुजल विद्युतबाट लाभान्वित भएको भएपनि जिल्लाभर भने केन्द्रिय प्रशारण लाइन विस्तार गरिएको बताउनुभयो ।


मिना बुढाथोकी