गाउँमा प्रसूति सेवा नहुँदा 'हेलिकप्टर चार्टर'

गाविसमा प्रसूति सेवा नभएपछि महङ्गो रुपियाँ खर्चेर हेलिकप्टर चार्टर गरी उपचार गर्नु परेको लिमीका स्थानीयबासीले गुनासो गरेका छन् ।

प्रसूति ब्यथाबाट पीडित लिमि गाविस-२ की ३५ वर्षीया डोल्माफुटी तामाङको ज्यान जोखिममा परेपछि उनका घरपरिवारले सात लाख रुपियाँ खर्चेर काठमाडौँबाट हेलिकप्टर चार्टर गरी मङ्सिर १५ गते अस्पताल लगिएको डोल्माफुटीका पति तेञ्जीङ तामाङले बताए ।

लिमी गाविस जिल्ला सदरमुकामबाट ५२ कोष टाढा रहेको छ । डोल्माफुटीलाई मङ्सिर १४ गतेबाट प्रसूति ब्यथा लागेपनि नजिक प्रसूति सेवा नभएकाले समस्या आएको तेञ्जीङले बताए ।

नेपाल सरकारले जिल्ला अस्पतालमा निःशुल्क प्रसूति सेवा लागु गरेको भएपनि प्रभावकारी रूपमा सञ्चालन नहुँदा जिल्लाका स्थानीयबासी मर्कामा परेको उनको भनाइ छ ।

जिल्लामा प्रसूति सेवाको उपचारमा राम्रो व्यवस्था नभएको र बिरामीको अवस्था बिग्रँदै गएपछि उपचारका लागि काठमाडौँ लगिएको तेञ्जीङ तामङले बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालय हुम्लाका निमित्त प्रमुख ध्रुव सिंहले विरामीका आफन्तलाई आफूले सक्दो प्रयास गर्छौ बाहिर नलैजान अनुरोध गरेपनि विरामीका आफन्तले बाहिरी जिल्ला लगेको बताए ।

सदरमुकाम सिमकोटमा गर्भवती भएकी महिलाको चार पटक सवास्थ्य परीक्षण हुने भएता पनि ५२ कोष टाढा रहेको लिमी गाउँमा स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीलगायत औषधि नहुने भएकाले प्रसूति सेवाबाट वञ्चित भएको उनले बताए ।

नजिकै स्वास्थ्य संस्था नहुँदा सुत्केरी ब्यथा लागेपछि काठमाडौँबाटै व्यक्तिगत रूपमा सात लाख रुपियाँमा हेलिकप्टर चार्टर गरी हुम्लाको लिमी गाविसमा टेकअप गराई मङ्सिर १५ गते सुत्केरी ब्यथा लागेकी पत्नीको ज्यान बचाउन काठमाडौँ पुर्‍याइएको तेञ्जीङले बताए ।

काठमाडौँको नर्भिक अस्पतालमा उपचाररत सुत्केरी महिलाको अवस्थामा सुधार आएपनि बच्चाको मृत्यु भएको परिवारले जनाएको छ ।


नन्द सिंह