गाउँपालिका वडा सचिवविहीन, शिक्षकलाई वडा सचिवको जिम्मेवारी

  ०७८ पुस २९ गते

सिरिजङ्घा गाउँपालिकाका आठ ओटै वटा वडा सचिवविहीन हुँदा सेवाग्राही मर्कामा परेका छन् ।

सिरिजङ्घा वडा–१ सिनाम, वडा–२ थुम्बेदिन, वडा–३ सिकैचा, वडा–४ तेल्लोक, वडा–५ पेदाङ, वडा–६ मामाखे, वडा–७ खेवाङ र वडा–८ याम्फुदिन वडा सचिवविहीन हुँदा सेवाग्राही मर्कामा परेका हुन् ।

सिङ्गो गाउँपालिका नै वडा सचिवविहीन भएपछि गाउँ कार्यपालिकाको बैठकले सामुदायिक विद्यालयका शिक्षकलाई वडासचिवको जिम्मेवारी दिने निर्णय गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले इन्सेक प्रतिनिधिको फोन सम्पर्कमा भन्नुभयो,“सचिव नहुँदा कस्तो समस्या हुन्छ भन्नु नपर्ला । अति आवश्यकीय सेवाबाट सेवाग्राही वञ्चित हुनु नपरोस् भनेर शिक्षकलाई परिचालन गर्ने निर्णय गरिएको छ ।” सम्बन्धित वडाका वडाका शिक्षकलाई वडासचिवको जिम्मेवारी दिइएको छ ।

पुस २६ गते गाउँ कार्यपालिकाको बैठकले स्थायी शिक्षकलाई वडासचिवको जिम्मेवारी दिने निर्णय गरिएको प्रशासकीय अधिकृत घिमिरेले बताउनु भयो । शिक्षकहरूलाई एकै पटक जिम्मेवारी दिने गरी कारबाही अघि बढाइएको घिमिरले बताउनु भएको छ ।

गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले वडाको काम समेत प्रभावित भएको बताउनु भयो । अध्यक्ष गुरुङले भन्नुभयो “शिक्षकलाई जिम्मेवारी दिनु रहर होइन । बाध्यता हो।’ उहाँले भन्नुभयो,“वडासचिव नहुँदा पञ्जीकरणको काम ठप्प हुन्छ । विकास निर्माणका कामदेखि सिफारिस समेत असम्भव बन्छ ।”

गाउँपालिकास्थित विभिन्न सेवा समूहका सात जना कर्मचारीको एकैपटक सरूवा भएको छ । भौगोलिक रूपमा गाउँपालिका केन्द्रस्थित तेल्लोकदेखि अन्य वडाका बस्ती धेरै टाढा पर्छ । वडामा कागजात जुटाएर सेवा लिनका लागि एक दिन पैदल हिड्नुपर्ने वडा–८ याम्फुदिनका स्थानीय ३१ वर्षीय खड्ग गुरुङले बताउनु भएको छ ।


देवराज गुरुङ