गाउँपालिका केन्द्र पायक स्थानमा निर्धारण गर्न माग गर्दै स्थानीयको विरोध

  ०७८ साउन ५ गते

महाकुलुङ गाउँपालिकाले केन्द्र निर्धारणका लागि साउन २ गते मतदानको प्रक्रियाबाट सर्सिलामा गाउँपालिकाको केन्द्र निर्धारण गर्ने निर्णय गरेपछि स्थानीय आन्दोलनमा उत्रिएका छन् । गाउँपालिकाले सर्सिलामा केन्द्र निर्धारण गरेको निर्णयप्रति असहमति जनाउँदै साउन २ गतेयता स्थानीयले केन्द्र निर्धारणको विषयमा आन्दोलनमा गरीरहेका छन् ।

गाउँपालिकाले साउन २ गते मतदानमार्फत सर्सिलामा प्रशासनिक केन्द्र रहने गरी छनौट गरेपछि गाउँपालिकाको वडा–१ मा पर्ने सर्सिला अपायक भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् । उनीहरूले साउन ५ गते समेत विरोध जारी राखेका छन् । स्थानीयले सोही वडाको गत्तेल या चौखिदोमा गाउँपालिकाको प्रशासनिक केन्द्र कायम गरिनु पर्ने माग गरेका छन् । जनप्रतिनिधिले गाउँपालिकाको केन्द्र राख्ने निर्णय लगत ढङ्गले गरेको भन्दै स्थानीयले साउन २ गतेयता दिनहुँ विरोध प्रर्दशन गरीरहेका छन् ।

गाउँपालिका अध्यक्ष सागर किराँतीको स्थानीयले पुत्लादहन गरेका छन् । विरोधमा उत्रिएका स्थानीयले निर्णय सच्याउनुपर्ने, स्थानीयको माग अनुसार गाउँपालिकाको केन्द्र कायम हुनुपर्ने लगायतका माग राखेका छन् । गाउँपालिकाले माटो परीक्षणदेखि भूगर्वविद् समेतलाई जग्गा व्यवस्थापन समितिमार्फत प्राप्त सर्सिला, गत्तेल, चोङखिदो र दम्माइ गरी चार ओटै स्थानको रिपोर्ट गुपचुपमा राखेको स्थानीय दुतिमान कुलुङको आरोप छ । गाउँपालिकाको लाखौँ खर्चबाट प्राविधिक टोली ल्याएको भएपनि त्यसको रिपोर्ट सार्वजनिक नहुनु र सबैलाई पायक पर्ने स्थान उपलब्ध हुँदाहुँदै बस्ती नै नरहेको एकान्तमा रहेको जग्गामा बढी मत आउनु षड्यन्त्रपूर्ण रहेको कुलुङको भनाइ छ ।

गाउँपालिकाको केन्द्र पायक स्थानमा हुनु पर्ने माग महाकुलुङवासीको अधिकार भएकाले जनप्रतिनधिले बेवास्ता गरे समस्या थपिँदै जाने कांग्रेसका नेता सुवास कुलुङले बताउनु भयो । केन्द्र निर्धारणको विषय र स्थानीयको मागको सम्बोधनको विषयमा गाउँपालिका अध्यक्ष सागर किराँतीसँग इन्सेक प्रतिनिधिले फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

महाकुलुङ गाउँपालिका–४ का वडाध्यक्ष तथा गाउँ कार्यपालिका सदस्य जयकुबेर राईले भौगोलिक हिसाबसँगै भविष्यका लागि सर्सिलामा केन्द्र राख्न उपयुक्त हुने बताउनु भएको छ । उहाँले भूगोलका हिसाबले बलियो, सहज सञ्चारको पहुँच, खुल्ला स्थान र दुई ओटा गाउँपालिका मिलेर नगरपालिका बन्ने अवस्थामा उपयुक्त हुने लगायतका कारणले सर्सिलाका लागि बढी मत आएको वडाध्यक्ष राईको भनाइ छ । महाकुलुङ गाउँपालिका–२ का वडाध्यक्ष प्रदीप कुलुङले क्षेत्रगत हिसाबमा सर्सिला अपायक स्थान भएको बताउनु भएको छ । उहाँले साविक बुङ गाविसलाई समेत उक्त क्षेत्रमा सेवा लिन सहज नुहुने भएकाले स्थानीयले विरोध गर्नु जायज भएको बताउनु भएको छ ।

गाउँपालिकाको केन्द्र निर्धारणका विषयमा साउन २ गतेयता स्थानीयले दिनहुँ विरोध प्रर्दशन गर्न थालेपछि अहिले त्यस क्षेत्रमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलका डिएसपी दिनेश शर्माले सशस्त्रको टोली गाँउपालिकाको केन्द्र विवाद भएको स्थानमा पुगेकोले भौतिक संरचनामा तोडफोड हुने अवस्था नरहेको इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भएको छ । नेपाल प्रहरीका डिएसपी कवित कटवालले शान्ति सुरक्षा मजबुत रहेको भएकाले वार्ता र संवादको माध्यमबाट सहमति खोजिने प्रयास भइरहेको जानकारी दिनु भएको छ ।

वि.स. ०७६ मङ्सिर २ गतेको कार्यपालिका बैठकको निर्णय अनुसार हालको गाउँपालिका केन्द्रलाई आधार मानि पुर्व, पश्चिम, उत्तर र दक्षिणतर्फ एक किलोमिटर क्षेत्रभित्र निशुल्क जग्गा उपलब्ध गराउने सार्वजनिक सूचना जारी गरिएको थियो । गाउँपालिकाद्घारा ०७६ जेठ ७ गते जग्गा व्यवस्थापन समिति समेत गठन गरिएको थियो । गाउँपालिकाद गठित जग्गा व्यवस्थापन समितिले सर्सिलामा ६८ रोपनी, गत्तेल र चौखिदोमा ३५ रोपनी जग्गा उपलब्ध हुने जानकारी दिएपछि गाउँपालिकाले भूगर्वविद् सहितको टोली ल्याएर माटो परीक्षण गराएको थियो । भूगर्वविद्ले दिएको प्रतिवेदन सार्वजनिक हुनुपर्ने र माटो परीक्षणको नतिजा सार्वजनिक हुनु पर्ने स्थानीयको माग छ ।

जिल्लाका थुलुङदूधकोशी, लिखुपिके, खुम्बुपासाङ ल्हामु गाउँपालिका बाहेकका स्थानीय तहले अझैपनि केन्द्र निर्धारण गर्न सकेका छैनन् । माप्य दुधकोशी र नेचासल्यान गाउँपालिकाले जग्गा व्यवस्थापन हालसम्म गर्न सकेका छैनन् ।

Photo 20210720 Solu (1)

Photo 20210720 Solu (2)


भोजराज कार्की