गाउँपालिका केन्द्रमा खानेपानीको समस्या : एक ग्यालेन पानी भर्दा दुई दिन कुर्नु पर्ने बाध्यता

अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरका स्थानीयबासीले खानेपानीको समस्या भोग्नु परेको गुनासो गरेका छन् । हिउँदमा हिमपात नभएका कारण खानेपानीको मुहानमा पानीको स्रोत कम भएपछि धारामा पानी कम आउँदा खानेपानीको समस्या भएको स्थानीयबासीले जानकारी दिएका हुन ।

अदानचुली गाउँपालिका–२ का जनक फडेराले एक महिनादेखि खानेपानीको समस्या धेरै हुन थालेको बताउनु भएको छ । सिंगो गाउँमा एउटा मात्र सार्वजनिक धारा भएका कारण खानेपानीको समस्या भएको बताउँदै फडेराले धारामा पानी सानो आउने भएकाले समस्या बढी हुन थालेको बताउनुभयो ।

यो समस्या प्रत्येक वर्ष उस्तै भएपनि यस वर्ष बढी देखिएको स्थानीयबासी फडेराले बताउनु भयो । जिल्लामा हालसम्म हिमपात नभएका कारण खानेपानीको मुहान सुक्दै गएकाले धारामा पानी थोरै आउँदा स्थानीय समस्यामा परेका हुन् ।

अर्का स्थानीयबासी शान्ती महताराले खानेपानी हाहाकार भएको भन्दै पानी थाप्ने भाँडा लाइनमा राखेर भर्नुपर्ने अवस्था आएको बताउनु भएको छ । बिहान–बेलुका मात्र धारामा सानो पानी आउने भएकाले दुई दिनमा एक गाग्री वा ग्यालेन भर्न पाइने उहाँले गुनासो गर्नु भएको छ । करिव ५ सय घरधुरी रहेको वडाका स्थानीयबासीले पटक पटक खानेपानीको समस्या झेल्दै आएका छन् ।

गाउँको धारामा पानी सानो आउने र त्यो पानी नपुग्ने भएकाले सो गाउँका स्थानीयबासी गाउँदेखि डेढ घण्टाको समय लाग्ने गल्फागाड खोलाबाट पानी ल्याउने गरेका छन् । घरका दुई जना व्यक्तिको काम खानेपानीको व्यवस्था गर्न कै लागि दिनभर समय वित्ने गरेको महताराले गुनासो गर्नुभयो ।

उक्त विषयमा अदानचुली गाउँपालिका उपाध्यक्ष कर्ण रोकायालाई बुझ्दा उहाँले गाउँपालिका केन्द्रस्थितका गाउँमा यो वर्ष मात्रै नभएर विगतका वर्षदेखिनै खानेपानीको समस्या हुने गरेको बताउनुभयो । उहाँले यो वर्ष हालसम्म पनि हिमपात नहुँदा पानीका मुहानहरू सुकेका कारण खानेपानीको हाहाकार भएको बताउनु भएको छ ।
Photohumla20240116


नन्द सिंह