गाउँपालिका कार्यालयमा लगाइएको तालाबन्दीका कारण सेवाग्राही समस्यामा

  ०७७ माघ ५ गते

मालिकार्जुन गाउँपालिकाको कार्यालयमा पुस २४ गतेदेखि गरिएको तालाबन्दीका कारण स्थानीय सेवाग्राहीले समस्या झेल्नु परेको छ ।

भवन निर्माणको विषयलाई लिएर ११ दिनदेखि तालाबन्दी गरिएको गाउँपालिकाको कार्यालय सुचारु गर्न जनप्रतिनिधिहरुले चाँसो नदिदा स्थानीय सेवाग्राही समस्या परेका हुन् ।

गाउँपालिकाका जनप्रतिनिधिबाट कार्यालय खुलाउने प्रयास नहुँदा योजना सम्झौता हुन नसकेको स्थानीय महेश पन्तले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘कार्यालय नखुल्दा काम गर्न पाइएको छैन् । गाउँपालिकासँग समयमै योजना अनुसार सम्झौता हुन सकेको छैन् । कार्यालय  खुलाउन जनप्रतिनिधिहरुले पहल गरेको पाइएन् ।’

सिफारिस लिनका लागि तीन दिनसम्म गाउँपालिकाको कार्यालयमा धाउदा समेत कार्यालयमा तालाबन्दी गरिएका कारण सिफारिस पाउन नसकेको स्थानीय मन्दिरसिह धामीले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘एउटा कामको लागि कति दिन कार्यालय धाउने । कार्यालयमा जनप्रतिनिधि आउँदैनन् । तालाबन्दी गर्ने समूह मात्रै देखिन्छन् ।’

योजनाको सम्झौता गर्न चार दिन कार्यालय पुगेको भएपनि गाउँपालिकामा लगाइएको तालाबन्दीका कारण सम्झौता बिना नै फर्किनु परेको स्थानीय मोहन रावतले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘दैनिक ५० रुपियाँ टिकट तिरेर गाउँपालिका पुग्छौँ । तर, त्यहाँ पुग्दा कार्यालयमा ताला झुण्डिएको मात्रै देखिन्छ । कार्यालय खुलाउन पहल नभएका कारण आफूहरुले दुःख खेप्नु परेको छ ।’

तालाबन्दीका कारण गाउँपालिकाको सेवा प्रवाह ठप्प भएपछि जिल्ला समन्वय समितिका प्रमुख करबीरबहादुर कार्की, सुरक्षा निकाय प्रमुखहरुको सहभागितामा छलफल गरिएको भएपनि सहमति हुन नसकेको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘गाउँ कार्यपालिका बैठकले जमिनको छनौट गर्दा पनि सबै विधि प्रकृया पु¥याएर गरेको देखिन्छ । तर, तालाबन्दी गर्ने पक्षले सहमति दिन मानिरहेका छैनन् । छलफलबाट तालाबन्दी गर्ने पक्ष उठेर हिडेपछि समस्या समाधान हुन सकेको छैन् ।’

गत पुस २२ गते बसेको गाउँ कार्यपालिकाको बैठकको बहुमतबाट गाउँपालिकाको प्रशासकीय भवन प्रहरी चौकी नजिकै बनाउने निर्णय गरेको गाउँपालिका प्रवक्ता प्रेम पन्तले बताउनु भयो ।

गाउँपालिका उपाध्यक्ष पुष्पा अवस्थीले २०७५ सालमा बसेको तेस्रो गाउँसभाले गाउँपालिकाको प्रशासकीय भवन प्रहरी चौकी नजिकै बनाउने निर्णय गरेको भएपनि अहिले आएर केही व्यक्तिहरुले असहमति जनाउँदा समस्या उत्पन्न भएको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘केही व्यक्तिहरुले असहमति जनाउँदै गाउँपालिकाको कार्यालयमा तालबन्दी गरेका छन् । यसले स्थानीय सेवाग्राहीहरुलाई समस्या भएको ।  समस्या समाधानका लागि पहल भइरहेको छ ।’

कार्यालयमा लगाइएको ताला नखोल्दा कार्यालयका कर्मचारीहरु कार्यालय बाहिर नै बसेर घर फर्किने गरेका छन् भने सेवाग्राहीहरु सेवा लिनबाट वन्चित भएका छन् ।


नरेन्द्रसिह कार्की