गाउँपालिका कर्मचारीहरूमाथि दुर्व्यवहार, कामकाज बन्द

  ०८१ माघ १० गते

मुखियापट्टी मुसहरनीया गाउँपालिकाको-६ लक्ष्मीपुर स्थित तत्कालिन कोभिड व्यवस्थापन केन्द्रमा वर्षौ देखी प्रयोगविहीन अवस्थाम रहेका स्वास्थ्य सामग्री गाँउपालिकाद्वारा बहेडाबेला बजारमा प्रस्तावित १५ सैयाको अस्पताल एवं वर्थिङ्ग सेन्टरको लागि ल्याउन जाँदा पूर्व गाउँपालिका अध्यक्ष मनोज यादव सहितको टोलीले ०८१ माघ ८ गते सो कार्यमा बाधा अवरोध गर्दै नगर प्रहरी लगायतका कर्मचारीहरुलाई गालिगलौज गरी दुर्व्यवहार गरेका छन् ।

उक्त घटनाको विरोद्ध गर्दै माघ ८ गते गाउँ कार्यपालकाको कार्यालयले विज्ञप्ति जारी गरेको छ । गाउँपालिकाको विकास निर्माणको कार्यमा बाधा अवरोध गर्ने र नगर प्रहरी, कर्मचारी, स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलगायतका जनताको सेवकहरू माथि भएको गालिगलौज तथा दुर्व्यवहार घटना प्रति दुःख व्यक्त गर्दै घटनाका आरोपितहरूलाई सिघ्र गिरफ्तार गरी कारबाही प्रक्रियामा ल्याउन विज्ञप्ति मार्फत गाउँपालिका अध्यक्ष जयकुमार यादवले सुरक्षा निकायसँग माग गर्नुभयो ।

त्यसैगरी, आरोपितहरूलाई कारबाही नहुन्जेलसम्म गाउँपालिकाले प्रदान गर्दै आइरहेको सेवाहरू पूर्ण रुपमा बन्द रहने अध्यक्ष यादवले विज्ञप्ति मार्फत बताउनु भयो ।

पूर्व अध्यक्ष यादव सहित विपक्षी दलका प्रतिनिधिहरूले प्रस्तावित १५ सैयाको आपतकालिन प्राथमिक उपचार केन्द्रमा पुगि अस्पतालका कर्मचारीहरूमाथि दुर्व्यवहार गरेको भन्दै कर्मचारीहरूले काम गर्ने वातावरण नरहेको गुनासो गरेपछि दोषीहरूलाई कारबाहीको माँग गरेको अध्यक्ष जयकुमार यादवले बताउनु भयो ।

पछिल्लो समयमा गाउँपालिकाको शिक्षा र स्वास्थ्य अवस्थामा सुधार आउँदै गएकोले विकास विरोधि विपक्षी दलका प्रतिनिधिहरूले विकास निर्माण कार्यमा निरन्तर अवरोध गर्दै आएको अध्यक्ष यादवले बताउनु भयो ।


सन्तोषकुमार यादव