गाउँपालिका उपाध्यक्ष नेतृत्वको टोलीले पूर्वाधार कार्यालयमा लगायो ताला

रामेछापको खाँडादेवी गाउँपालिकाका दुईवटा सडकको काम निर्धारित समयमा सम्पन्न नभएको भन्दै गाउँपालिका उपाध्यक्ष रमा घिसिङको नेतृत्वमा आएका जनप्रतिनिधि र स्थानीयको टोलीले ०८१ जेठ ८ गते पूर्वाधार विकास कार्यालय, मन्थलीमा ताला लगाएर धर्ना बसेका छन् ।

खाँडादेवीको पकरबास–गोगनपानी–गाल्वा सडक र गोगनपानी–धुलेबेसी–भोटनागी सडक कालोपत्रेको काम कार्यालय र निर्माण व्यवसायीको मिलेमतोमा समयमा निर्माण नगरेको र म्याद थप गरी काम अलपत्र पारेको भन्दै गाउँपालिका उपाध्यक्ष रमा घिसिङको नेतृत्वमा आएको जनप्रतिनिधि र स्थानीयको टोलीले कार्यालयको मूल गेटमा ताला लगाएको हो । घिसिङसँगै वडा वडाध्यक्षहरू केशव प्रधान, मनोज पौडेल, नारायण कार्की, जंगलाल तामाङ र अक्कलबहादुर भण्डारीलगायत हुनुहुन्छ ।

सडक निर्माणको लागि तदारुकता नदेखाएको कारण नागरिकको भावना अनुसार बाध्य भएर कार्यालयमा ताला लगाउनु परेको उपाध्यक्ष घिसिङले बताउनु भयो ।

विकासको बजेट फ्रिज भएर जाने र काम नहुने स्थिति आएकोले ताला लगाउन बाध्य भएको खाँडादेवी गाउँपालिका–२ का वडाध्यक्ष केशव प्रधानले बताउनु भयो ।

कूल १० किलोमिटर लामो पकरबास–गोगनपानी–गाल्वा सडक कालोपत्रे गर्ने जिम्मा दिवा / ओमबुद्ध / अर्याल कन्ट्रक्सनले ४३ करोड रूपियाँमा लिएको थियो । त्यस्तै ७.५ किलोमिटर लामो गोगनपानी–धुलेबेसी–भोटनागी सडक निर्माणको जिम्मा १७ करोड रूपियाँमा  रौताहा / सगुन / पाँच पोखरी कन्ट्रक्सनले लिएको थियो । दुवै सडक १८ महिना भित्र काम पुरा गर्ने गरी २०७८ मा ठेक्का सम्झौता भएको थिए ।

समयमा काम नगरेपछि ०८० पुस ३ गते धुलेबेसी सडकको निर्माण कार्य जेठ मसान्त भित्र र गाल्वा सडकको निर्माण असार १५ सम्म सक्ने जनप्रतिनिधि समेतको रोहवरमा प्रतिबद्धता जनाए पनि काम नभएपछि स्थानीय आन्दोलित भएका हुन् ।

सडक निर्माण  नहुँदा वर्षामा हिलो र हिउँदमा धुलोले स्थानीयको स्वास्थ्यमा समेत प्रभाव परेकका कारण बाध्य भएर आन्दोलनमा उत्रिनु परेको स्थानीय अगुवा मोतीलाल तामाङले बताउनु भयो ।

सडक निर्माणको काम असार मसान्त अघि सक्ने गरी अघि नबढे स्थानीयको आन्दोलन जारी रहने उहाँले बताउनु भयो ।

पूर्वाधार विकास कार्यालयका प्रमुख वीरेन्द्र बज्राचार्यले यस विषयमा स्थानीय प्रशासनसँग छलफल गरिरहेको जानकारी दिनुभयो ।

photo2024052101ramechap

 

 


नबराज पथिक