गाउँपालिका अध्यक्ष चौधरीमाथि दुर्व्यवहार

शुद्धोधन गाउँपालिकाका अध्यक्ष किशुनचन्द चौधरीमाथि जेठ २० गते सवा पाँच बजे शुद्धोधन गाउँपालिका-४ को जुगेडिया भन्ने ठाउँमा तीन वटा मोटरसाइकलमा आएका ६ जना अपरिचत नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जिल्ला परिषदका व्यक्ति बताउने व्यक्तिहरूले मोविल खन्याएर दुर्व्यवहार गरेका छन् ।

जेठ २० गते कार्यालय समयपछि घरतर्फ फर्कंदै गरेका अध्यक्ष चौधरीलाई तीन वटा मोटरसाइकलमा आएका ६ जनाले कुरेर बसेको र अध्यक्ष आएको लु २४ प ५२३९ नं.को निजी मोटरसाइकललाई रोकी 'हजुरलाई पत्र दिनुछ ।' भन्दै मोटरसाइकलको चावी र मोवाइल खोसेर हेल्मेट खोली मोविल खन्याएर भागेको पीडित चौधरीले बताए ।

अध्यक्ष चौधरीले अहिलेसम्म कोहीकसैसँग आफ्नो कुनै खालको दुस्मनी नभएको र फोनमा पनि धम्की नआएकोले यो घटना गाउँपालिका र आफ्नो बेइज्जत गराउनका लागि गरेको हुनसक्ने आशङ्का व्यक्त गरे ।

चौधरीलाई छाडेको पत्रमा विकास निर्माणको नाममा निकालिएको नदीजन्य पदार्थ स्थानीय ठेकेदार र व्यापारीहरूलाई बेचेर कमिशन खाएको, गाउँपालिकाको सामानहरू खरिद गर्दा प्रकृया मिलाएर कमिशन खाएको, विकास निर्माणमा राजनीतिकरण गरी पार्टीका कार्यकर्ता भर्तीकेन्द्र खोलेको, योजनाहरूबाट २० देखि २५ प्रतिशत कमिशन खाएको जनताको ढाड सेक्ने गरी कर बृद्धि गरेको जस्ता आरोपहरू लगाइएको छ ।

घटनाका विषयमा गाउँपालिकाले पनि अनावश्यक आरोप लगाएर गाउँपालिकाको बेइज्जत गराउन खोजेको भन्दै घटनाप्रति घोर भत्सर्ना गर्दे दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न विज्ञप्तिमार्फत सरकारसँग माग गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका एसपी श्याम ज्ञवालीले गाउँपालिकाका अध्यक्षमाथि भएको दुर्व्यवहार दुःखद् र कानुन विपरीत भएकाले कानुन हातमा लिन खोज्ने जो सुकै भएपनि नछाडिने बताए । उनले घटनामा संलग्न दोषीहरूको खोजी भइरहेको जानकारी दिए ।


रीमा बि.सी.