गाउँपालिका अध्यक्षविरुद्ध उजुरी दर्ता

  ०८० चैत १९ गते

रुपनी गाउँपालिका–१ का ४८ वर्षीय रुपनी गाउँपालिका अध्यक्ष दिनेश यादव, सोही वडाका निवर्तमान वडा अध्यक्ष ३५ वर्षीय पिताम्बर यादव, सोही ठाउँका गाउँपालिकाको सवारी चालक ३४ वर्षीय राम यादव र रुपनी गाउँपालिका–२ का ३२ वर्षीय सरोज यादवविरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० चैत १६ गते चोरी–डाँकासम्बन्धी आरोपमा उजुरी दर्ता भएको छ ।

उच्च अदालत जनकपुर राजविराज इजलासबाट परमादेश भएको ४ महिनापछि उजुरी दर्ता भएको हो । उच्च अदालतले मङ्सिर २२ गते परमादेश जारी गरेको थियो । सप्तरीका एसपी गजुसिद्धि बज्राचार्यले चोरी–डाँकासम्बन्धी आरोपमा उजुरी दर्ता गरी अनुसन्धान सुरु गरिएको बताउनु भयो ।

रुपनी गाउँपालिका–१ का वडा अध्यक्षका प्रत्यासी उम्मेदवार तथा ‘भ्रष्टाचार र लागुपदार्थ मुक्त रूपनी गाउँपालिका’को अभियानकर्मी ३७ वर्षीय राजु भनिने किरणकुमार जायसवालमाथि २०८० असार २४ गते गाउँपालिका कार्यालय अगाडि गाउँपालिका अध्यक्ष यादवको निर्देशनमा अन्य आरोपितहरुले कुटपिट, लुटपिट गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा असार २६ गते उजुरी दिनु भएको थियो ।

गाउँपालिका कार्यालयमा सेवा लिन पुगेको बेला गाउँपालिका अध्यक्ष यादवको निर्देशनमा आरोपितहरूले आक्रमण गरेको जायसवालको आरोप छ । अध्यक्ष यादवले मोबाइल खोस्दै कमिजको कलर समातेको, चालक यादवले पछाडिबाट समातेको र पिताम्बरले कुटपिट गरेको जायसवालले बताउनु भयो । जायसवालले वडा नम्बर ५ का वडा अध्यक्ष गंगाराम यादवसँग भेटघाट गर्न गाउँपालिका कार्यालय गएको बेला गाउँपालिका अध्यक्ष यादवले ‘अख्तियारमा निवेदन दिने, सामाजिक सञ्जालमा जथाभावी लेख्ने’ भन्दै हप्काएको र तुरुन्तै निवर्तमान वडा अध्यक्षलाई फोन गरी बोलाएर कुट्न लगाएको जानकारी दिनुभयो । असार २३ गते राति गाउँपालिकाको स.१ झ ५१८ नम्वरको स्कोरपिओ गाडी दुर्घटनामा परी क्षति पुगेको विषयमा जायसवालले आफ्नो फेसबुकमा “आर्थिक बर्ष रुपनी गाउँपालिकाको गाडिलाई लागेको छ । मध्य राति कमिसन लिने, दिने, भाग्ने र रोक्ने छेक्ने, दुर्घटना आदि इत्यादी जे–जे प्रवृत्ति भने पनि शिकार रुपनी गाउँपालिकाको सरकारी गाडी “५१८” भएको छ ।” लेख्नु भएको थियो ।

घटनाका बेला वडा नम्बर–२ का वडा अध्यक्ष २८ वर्षीय सरोज कुमार यादव, वडा नम्बर–३ का वडा अध्यक्ष ७३ वर्षीय अमर मुखिया, वडा नम्बर–४ का वडा अध्यक्ष ३५ वर्षीय छेदी इसर, वडा नम्बर–५ का वडा अध्यक्ष ४६ वर्षीय गंगाराम यादव लगायतका जनप्रतिनिधिहरू समेत प्रत्यक्षदर्शी थिए । असार २६ गते दिएको उजुरी प्रहरीले दर्ता नगरेको भन्दै पीडितले जिल्ला सरकारी वकिलको कार्यालयमा साउन ५ गते निवेदन दिनु भएको थियो । तर पनि प्रहरीले उजुरी दर्ता नगरे पछि उच्च अदालत जनकपुर राजविराज इजलासमा साउन २३ गते दिएको निवेदनमा अदालतले मङ्सिर २२ गते आरोपितहरूविरुद्ध चोरी, डाँका मुद्दा दर्ता गर्न परमादेश जारी गरेको हो ।

अध्यक्ष यादवले लुटेको भनिएको मोबाइलमा गाउँपालिका अध्यक्ष यादवले कमिसन लिएको भ्रष्टाचारको प्रमाण रहेको जायसवालको दाबी छ ।


मनोहरकुमार पोखरेल