कुटपिट घटनाका आरोपित गाउँपालिका अध्यक्षविरूद्ध प्रहरीमा उजुरी

  ०७८ असोज ९ गते

साल्पासिलिछो गाउँपालिका–२ का ४४ वर्षीय वडा अध्यक्ष मानबहादुर खत्रीलाई सोही गाउँपालिकाका ४६ वर्षीय गाउँपालिका अध्यक्ष महेश राईले असोज ८ गते कुटपिट गरेको आरोपमा पीडितले प्रहरी चौकी कुलुङमा सोहि दिन उजुरी दिनु भएको छ ।

गाउँपालिकाको कार्यालयबाट कुलुङ फर्कने क्रममा राईले कुटपिट गरेको खत्रीले आरोप लगाउनु भएको छ । कुटपिटबाट आफूलाई सामान्य चोट लागेको उहाँको आरोप छ ।

गाउँपालिकास्थित अस्थायी कोभिड अस्पताल तथा कुलुङ स्वास्थ्य चौकीमा कार्यरत डा. भविन्द्र कार्कीले गत वैशाख महिनादेखि तलव नपाएको विषयमा वडाअध्यक्ष खत्रीले कुरा उठाएको विषयमा विवाद हुँदा अध्यक्ष राईले कुटपिट गरेको भनी उजुरी आएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी राजकुमार राईले बताउनु भएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको डिएसपी राईले बताउनु भएको छ । ‘सार्वजनिक स्थलमै गाली गर्दै हातपात गरेकोले न्याय पाउँ भनी प्रहरी चौकी कुलुङमा उजुरी दिएको छु ।’–पीडित खत्रीले भन्नु भयो ।

गाउँपालिकाका अध्यक्ष राईले डाक्टर कार्की र वडाध्यक्ष खत्रीले छलफल भएको विषयलाई राजनीतिकरण गरेको आरोप लगाउनु भएको छ ।


गणेश विष्ट