गाउँपालिकामा सेवा सुविधा नपाएपछि स्थानीयबासीलाई थप समस्या

गाउँपालिकामा सहजै रूपमा पाउनु पर्ने कुनै पनि सेवा सुविधा नपाएपछि स्थानीयबासीलाई थप समस्या भएको छ ।

हुम्लाका सात ओटा गाउँपालिकाले सदरमुकाम सिमकोटमै सम्पर्क कार्यालय खोलेपछि यतिखेर सबै गाउँपालिकाका स्थानीयबासीहरूले समस्या झेल्दै आएका छन् । सम्पर्क कार्यालय खोलेर जनप्रतिनिधि सदरमुकाममा बसेपछि सेवाग्राही मर्कामा परेका छन् ।

हुम्लाका नाम्खा, खार्पुनाथ, चंखेली, अदानचुली, सार्केगाड, ताँजाकोट र सीमकोट गाउँपालिकाको सम्पर्क कार्यालयहरू आआफ्नो गाउँपालिकामा हुनु पर्नेमा नभएर सदरमुकाम सिमकोटमा नै खोलिएका छन् । गाउँमा उक्त कार्यलयहरू सञ्चालनमा नआएपछि स्थानीय बासिन्दालाई सिफारिस, जन्मदर्ता, नागरिकताजस्ता कामका लागि चार दिनसम्म हिँडेर सदरमुकाम नै धाउनुपर्ने बाध्यता रहेको अदानचुलि गाउँपालिका-२ का छक्क बुढाले गुनासो गरे ।

त्यस्तै स्थानीय तहको निर्वाचनपछि गाउँमै सबै सेवा हुने भनियता पनि गाउँपालिकामा कुनै पनि कर्मचारी नआएकाले सदरमुकाम सिमकोट पुग्नु पर्दा सामान्य सिफारिसका लागी पनि करिब १५ हजार रुपियाँ खर्च गर्नु परेको चङ्खेली गाउँपालिका-३ का टक्क शाहीले गुनासो गरे ।

नागरिकताको लागि सिफारिस बनाउन तीन दिन हिँडेर सिमकोट पुगेका ताँजाकोट गाउँपालिका- ३ का कर्णप्रसाद जैसीले भने-'व्यवस्था फेरियो दुःख फेरिएन ।' स्थानीय तहको निर्वाचनपछि घरदैलोमै सेवा पाउने आश गरेका नागरिक पहिलेको जस्तै अवस्था देखेर दिक्क भएका छन् ।

यस्तै कर्मचारी नहुँदा पनि थप समस्या भएको छ । कर्मचारी पूरा नहुँदा एकजना वडा सचिवले तीन ओटा वडा धान्नु परेको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले बताए ।

नवनिर्वाचित जनप्रतिनिधिहरूसँग बुझ्दा स्थानीय तहको निर्वाचनपछि गाउँमै सबै सेवा उपलब्ध हुने भनिए पनि गाउँमा पूर्वाधार, कर्मचारी व्यवस्थापन, विद्युत तथा बैङ्क नभएको भन्दै सदरमुकामबाटै सेवा दिनुपरेको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावलले बताए पनि झारो टार्ने काम बाहेक अरू नभएको स्थानीयबासीको भनाई रहेको छ ।


नन्द सिंह