गाउँपालिकामा बालश्रमिकको तथ्याङ्क संकलन, ६८ जना बालबालिका बालश्रममा संलग्न !
मालिकार्जुन गाउँपालिकामा ६८ जना बालबालिकाहरु बालश्रमिकका रुपमा कार्य गरिरहेको पाइएको छ । मालिकार्जुन गाउँपालिका महिला बालबालिका शाखाले गाउँपालिकाका आठ ओटै वडामा गरेको सर्वेक्षणमा सो तथ्याङ्क पाइएको हो ।
मालिकार्जुन गाउँपालिका महिला बालबालिका शाखाका प्रमुख आरती शर्माका अनुसार गाउँपालिकाभरि ६८ जना बालश्रमिक रहेको तथ्याङ्क भेटिएको छ । उहाँका अनुसार गाउँपालिकाको वडा नम्बर ८ मा २८ जना, वडा नम्बर ४ मा २४ जना, वडा नम्बर ७ मा १२ जना, वडा नम्बर १ मा तीन जना र वडा नम्बर ५ मा एक जना बालश्रमिक छन् ।
गाउँपालिकालाई बालश्रम मुक्त बनाउने योजना अनुसार तथ्याङ्क संकलन गरिएको छ । बालश्रमका कारण बालबालिकाले पाउनु पर्ने आधारभूत सेवाबाट वञ्चित हुनु पर्ने अवस्था आएको भन्दै गाउँपालिकाले तथ्याङ्क संकलन गरिएको शर्माले बताउनु भयो ।
संविधानप्रदत्त बालबालिकाले पाउने हकबाट वञ्चित हुने अवस्था नआउन दिन बालबालिकाको तथ्याङ्क संकलन गरी उनीहरुलाई सहज जीवनयापन गराउन गाउँपालिकाले भूमिका खेल्ने तयारी गरेको गाउँपालिका उपाध्यक्ष कल्यानसिह धामीले बताउनु भयो ।
द्धन्द्धपीडित, असहायक, दलित बालबालिकालाई हामीले हरेक वर्ष छात्रबृत्ति तथा कापीकलमलगायतका सामाग्री सहयोग गर्दै आएका छौ, उपाध्यक्ष धामीले भन्नुभयो, अहिले बालश्रमिकका रुपमा रहेका बालबालिकाको पहिचान गर्ने काम थालनी गरेका छौँ । धेरैजसो बालबालिका भारतमा समेत मजदुरी गर्न गएको जानकारी आएको भन्दै उहाँले भन्नुभयो, यसको लागि अभिभाकसँग समन्वय गरेर भारतबाट फर्काउने योजना छ ।
बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन नपाउने कानुनी प्रावधान हुँदाहुँदै पनि बालबालिका आमाबुवासँगै काममा हिड्ने गरेका कारण पनि तथ्याङ्क बढि देखिएको शाखा प्रमुख शर्माको भनाइ छ ।
जिल्ला बार एशोसियसनका सदस्य तथा अधिवक्ता धीरेन्द्रसिंह साउदले बालबालिकाको संरक्षण गर्ने जिम्मा स्थानीय सरकारको भएको भन्दै गाउँपालिकाले थालेको कामलाई सकारात्मक रुपमा लिनु पर्ने बताउनु भयो । पहिलो चरणमा तथ्याङ्क आएको छ । अब अभिभावक र बालबालिकालाई कानुनी सचेतना दिएर बालश्रम मुक्त बनाउने अभियान प्रभावकारी बनाउनु पर्ने उहाँको भनाइ छ ।
महिला विकास सहायक निरीक्षक शर्माका अनुसार बालश्रममा रहेका मध्ये ३७ जना बालक भारतका बिभिन्न ठाउँमा कामगर्दै आइरहेका छन् । अरु बालबालिका गाउँपालिकाभित्रै बिभिन्न काममा सलग्न रहेको पाइएको उहाँले जानकारी दिनुभयो ।
शिक्षा शाखा प्रमुख लोकेन्द्रसिह धामीले बालश्रममा लागेका बालबालिकाहरुले पहिल्यै नै पढाई छोडिसकेको बताउनु भयो । १४ वर्षदेखि १७ वर्ष उमेरका बालकहरु कुनै न कुनै काममा संलग्न रहेका तथ्याङ्कमा उल्लेख गरिएको छ ।
बालश्रममा रहेका बालबालिका आर्थिक अवस्था कमजोर भएकै कारण आमाबुवासँगै भारत तथा गाउँमै मजदुरी गर्न बाध्य रहेको पाइएको छ । बालबालिकाको पहिचान गरेर उनीहरुलाई बालश्रमबाट मुक्त गराउने गरी गाउँपालिकाले योजना बनाइरहेको गाउँपालिका अध्यक्ष हिरासिह धामीले बताउनु भयो । अहिले महिला बालबालिका शाखाले तथ्याङ्क लिएर अभिभावकलाई अभिमुखीकरण गराउने काम सुरुवात गरिएको छ । अभिभावकको चेतना बढाउन सके मात्रै बालबालिकालाई विद्यालय पढाउन सहज हुने उहाँको भनाइ छ ।
नेपालको संविधानको धारा ३९ मा बालबालिकाको हकको व्यवस्था गरिएको छ । दफा २ मा प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा स्वागार्णीक हक हुने, दफा ४ मा कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा जोखिमपूर्ण काममा लगाउन पाइने छैन् भनिएको छ भने दफा ९ मा असहाय, अनाथ, अपाङ्गता भएका, द्धन्द्धपीडित विस्थापित एवं जोखिममा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा पाउने हकको व्यवस्था गरिएको छ ।
नरेन्द्रसिह कार्की
सम्बन्धित समाचारहरू
‘बालिका आमा’ को सङ्ख्या बढ्दै, एकै वर्षमा ९० किशोरीले जन्माए सन्तान
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ११ को विवाहसम्बन्धी कसुरको दफा १ सय ७३ मा ‘बाल विवाह गर्न नहुने’ सम्बन्धी व्यवस्था उल्लेख छ । जसको दफा १ मा ‘विवाह गर्ने…
कोशी प्रदेशमा प्रभावहीन बालमैत्री स्थानीय शासन अवधारणा
सरकारले बाल अधिकारको सम्मान गर्दै बालमैत्री स्थानीय तह बनाउनका लागि कार्यविधि जारी गरेपनि कोशी प्रदेशमा बालमैत्री स्थानीय शासन अवधारण गतिहीन भएको छ । नेपाल सरकारले बालमैत्री स्थानीय शासनको प्रर्वदन गर्नका…
जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो
जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । स्वास्थ्य सेवा कार्यालय हुम्ला अन्तर्गतको जिल्ला अस्पतालमा कार्यरत पाँच जना चिकित्सकले गत वैशाखदेखि पारिश्रमिक नपाएको गुनासो गरेका हुन् ।…
बालविवाह रोक्न बालिका बिमा
गैँडहवा गाउँपालिकाले गाउँपालिकामा जन्मिएका बालिकाहरूको बालिका बिमा गर्ने निर्णय गरेको छ । 'छोरी बचाउ छोरी पढाउ' अभियान अन्तर्गत गैँडहवा गाउँपालिकामा जन्मिएका बालिकाको प्रोत्साहन गरी छोरीको शैक्षिक विकास, छोरा र छोरी…
कोशी प्रदेशमा १ हजार ७ सय २७ जनामा डेङ्गीको सङ्क्रमण
कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गीको सङ्क्रमण बढेपछि चिकित्सकले उच्च सर्तकता अपनाउन आग्रह गरेका छन । कोशी प्रदेशमा ०८१ साउनदेखि ०८१ असोज २३ गतेसम्ममा १ हजार ७ सय २७ जनामा…