गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत नहुँदा सेवाग्राहीलाई समस्या

  ०७७ चैत १२ गते

पर्वतको पैयूँ गाउँपालिकामा करिब दुई महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । गाउँपालिकामा ०७७ माघ १६ गतेदेखि कार्यालय प्रमुख नहुँदा अहिले नागरिकलाई समस्या परेको हो ।

गाउँपालिकामा कार्यरत नेत्रप्रसाद पौडेलको माघ १६ गते अन्यत्र सरूवा भएपछि हालसम्म अर्को व्यक्ति हाजिर भएका छैनन् ।

गाउँपालिकामा प्रमुख नहुँदा अहिले प्रशासनिक काम बाहेक अन्य सबै काम ठप्प भएको गाउँपालिकाका लेखा अधिकृत सरोज पराजुलीले इन्सेक प्रतिनिधिलाइ फोन मार्फत जानकारी दिनुभयो ।

अधिकृत नहुँदा विभिन्न प्रकारका सिफारिस, योजना सम्झौता, आर्थिक कारोबार, अनुगमन र कर्मचारी तलब, लगायतका काम रोकिएका उहाँले बताउनुभयो ।

‘काम धेरै छ तर अधिकृत नहुँदा गाउपालिकामा सेवा लिन आउनेहरुलाई काम पुरा नगरी फिर्ता पठाउनु परेको छ’ – उहाँले भन्नुभयो –‘अहिले कार्यहरु राम्ररी सुचारु गर्न सकिएको छैन ।’

गाउँपालिकाबाट सिफारिस लिन आउनुभएका एक जना सेवाग्राहीले आफूले गाउँपालिकामा जाँदा अधिकृत नहुँदा सिफारिस पत्र अहिलेसम्म प्राप्त नगरेको गुनासो व्यक्त गर्नुभयो ।

प्रशासकिय अधिकृत को नियुक्ति बारे कुरा गर्दा केन्द्रबाट प्रशासकिय अधिकृत चाडै नपठाएको तर केन्द्रले प्रमुख प्रशासकिय अधिकृत तोकेर पठाउने तयारी गरेको व्यक्तिलाई गाउँपालिकाले सहमति नदिएपछि अहिलेसम्म कुनै प्रशासकिय अधिकृत आउन नसकेको स्रोतबाट जानकारी पाएको स्थानीय युवा निर्भिक नारायण भुर्तेलले जानकारी दिनुभयो ।


सन्तोष थापा